Wednesday, November 12, 2014

सहमतीय संविधान नभए संघर्षमा जाने प्रचण्डको घोषणा

रोल्पा । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले रोल्पालीको तागत लिई काठमाडौं फर्केर सहमतिको संविधान लेख्न पहल गर्ने बताएका छन्। दाहालले बुधबार राङ्सीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

राङ्सी एमाओवादीको युद्धकालीन हेडक्वाटर हो। दाहालले यहीं बसेर चर्चित चुनबाङ बैठकको दस्तावेज लेखेका थिए। दाहालले काठमाडौं गएपछि सहमतिको संविधान निर्माणमा आफूले पहल गर्ने र कांग्रेस-एमालेले बन्‍न नदिए त्यसका विरुद्ध रोल्पाली र पचहत्तरै जिल्लाका जनतालाई जुरुक्कै उठ्न आह्वान गर्ने बताए। उनले रोल्पालीलाई इमानदारको संज्ञा दिँदै परिआएमा देश र जनताका लागि लड्न र बलिदान हुन पछि नहट्ने बताए।

उनले पार्टी र राष्ट्रलाई समस्या हुँदा जहिलै आफू रोल्पा आउने गरेको स्मरण गर्दै विगतमा भएका सम्झौता उल्टाएर कांगे्रस र एमालेले संघीयतामा समस्या उत्पन्‍न गरेकाले अहिले पनि रोल्पालीसँग सुझाव माग्न आएको बताए। उनले भने, 'म रोल्पा आएपछि काठमाडौंमा निकै तरंग फैलिएको छ।

प्रचण्ड किन गयो रोल्पा? फेरि युद्ध लड्न हो कि? संविधान नबनाउन गएको होला पनि एकथरीले भनेका छन्। कांग्रेसका एकथरी नेता त विक्षिप्त भई बर्बराएका छन्। तर, म यहाँ जनयुद्ध सुरु गर्न आएको पनि होइन। हिंसा गर्न आएको पनि होइन।'

विगतमा गरेका बाचा पूरा गर्न रोल्पा आएको उनले बताए। दाहालले भने, 'खालि हिजो जे सम्झौता भएको थियो, पहिचान दिइनेछ, आदिवासी, जनजाति, महिला सबैलाई अधिकार दिइनेछ भनेर बाचाकबुल गरिएको हो।

मैले र गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको हो। त्यहाँबाट पछि हट्न पाइँदैन। पछि हट्ने हो भने रोल्पा जान्छु। रोल्पालीसँग सल्लाह गर्छु। रोल्पाबाट तागत लिएर आउँछु र सम्झौताअनुसार संविधान बनाउन बाध्य पार्छु भनेर म यहाँ आएको हुँ।' कांग्रेस र एमालेले सात प्रदेश प्रस्ताव गरेपछि त्यसमा विरोध जनाउँदै दाहाल रोल्पा आएका हुन्।

दाहालले भने, 'जति बेला राष्ट्र र पार्टीमा समस्या देखापर्छ, उति बेला रोल्पा आउने मेरो परम्पराजस्तै भएको छ। यो पटक पनि कांग्रेस र एमालेले पुराना सहमति तोडेर पहिचान र अधिकार नभएको सात प्रदेश बनाउन खोजे।

त्यसैले युद्ध गरेका ठाउँको पनि सम्झना गर्नुपर्छ, सबै सहिद र बेपत्ताका परिवारसँग पनि भेट्नुपर्छ र सुझाव माग्नुपर्छ भनेर रोल्पा आएको हुँ। म तपाईंहरूको तागत लिन यहाँ आएको हुँ। जुन तागतले शान्ति प्रक्रिया पनि ठीक पार्न र संविधान पनि जनताको पक्षमा बनाउन सकोस्।'

उनले कांग्रेस र एमालेले सहमतिमा जनताको पक्षमा संविधान निर्माण गर्न नमाने शान्तिपूर्ण संघर्ष गर्ने बताए। उनले भने, 'हामी शान्तिपूर्ण संघर्षभन्दा बाहिर जाँदैनौं। जाने नीति पनि छैन। भूमिगत जाने, बन्दुक उठाउने पनि छैनौं।

लोकतान्त्रिक प्रतिस्पर्धाबाट उनीहरूलाई परास्त गर्न सक्छौं।' रोल्पाको विकास निर्माणलगायतका विषयमा पनि कुरा गरेका उनले युद्धकालीन हेडक्वाटरलाई संग्रहालय बनाउने बताए।

No comments: