Sunday, November 2, 2014

असोज महिनामा मात्रै पौने ७ हजार विदेशी पर्यटक खुम्बु पुगे

सोलुखुम्बु, १६ कात्तिक । मुलुकको प्रमुख पर्यटकीय गन्तव्य खुम्बु क्षेत्र असोज महिनामा ६ हजार ८ सय १० विदेशी पर्यटकले भ्रमण गरेका छन् ।


सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार जोरसल्लेबाट ६ हजार ७५३ जना, स्याङ्बोचे चेकपोष्टबाट ४६ जना र राष्ट्रिय निकुञ्जको कार्यालयबाट ११ जना गरी कुल ६ हजार ८ सय १० पर्यटक खुम्बु क्षेत्र प्रवेश गरेका हुन् ।
कार्यालयको तथ्यांकअनुसार खुम्बु क्षेत्र भ्रमणमा आउने विदेशी नागरिकमध्ये सबैभन्दा बढी अस्ट्रेलियाका ९५० जना, अमेरिकाका ७५२ जना र तेस्रोमा जर्मनीका ७२२ रहेका छन् । असोज महिनामा भ्रमणमा आएकामध्ये १० वर्ष मुनिका १० जना बालबालिकाले निःशुल्क प्रवेशाज्ञा पाएका थिए ।

असोज महिनाको एक महिने तथ्याङ्कमा सार्क क्षेत्रबाट भने भारतबाट २०५, श्रीलङ्काबाट छ र बङ्गलादेशबाट १० जना आएका थिए । अघिल्लो वर्षको असोज महिनामा भने छ हजार ४६२ विदेशी नागरिकले भ्रमण गरेका थिए । यसैबीच, असोजमा सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले एक करोड ६१ लाख ४० हजार ७१३ रुपैयाँ ६० पैसा राजस्व संकलन गरेको छ ।

मालिङ्गो पुर्जी, बालुवा, हेली अवतरण, पर्यटन प्रवेश शुल्क, पर्यटन भरिया शुल्कलगायतबाट यो राजस्व सङ्कलन भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका सहायक संरक्षण अधिकृत लक्ष्मण पौडेलले जानकारी दिए । रासस

No comments: