Thursday, October 9, 2014

अक्टोबर सुरुवातमै लुक्लाको दैनिक उडान ३० भन्दा बढि

                                                                              शिखर पोस्ट डेक्स                                                                  
सोलुखुम्बु, असोज २३ । पर्यटकीय सिजन सुरुभएसँगै तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा हवाइ उडान सङ्ख्या बढेको छ । हवाई मार्ग प्रयोग गरी आउने पर्यटक बढेका कारण अहिले बिभिन्न एयरलाइन्सहरुले दैनिक ३० भन्दा बढी उडान भर्दै आएका छन्।


हाल लुक्लाको लागि सीता, तारा, सिम्रिक र नेपाल एयरलायन्सले दैनिक उडान भरिरहेका हुन । ती जहाजबाट दैनिक करिब ३०० भन्दा बढी पर्यटक खुम्बु क्षेत्र प्रवेश गरिरहेको तत्याङ्कले देखाएको छ । पर्यटक अक्टोबर÷नोभेम्बर महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथाको अवलोकनका लागि बर्र्सेनि हजारौँ हजारको सङ्ख्यामा आउने गरेका छन् ।    

त्यस्तै यसपालीको सिजनको सुरुवातसँगै सगरमाथा क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । पर्यटकीय सिजन सुरुभएसँगै भएसङगै सगरमाथालगायत अन्य मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढीरहेको बताइएको छ ।

पर्यटकको चाप बढ्न थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीहरुको व्यस्तता पनि बढेको छ । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान छ । सोही कार्यालयमा रहेको पर्यटक सूचना केन्द्रले पर्यटकलाई खुम्बु क्षेत्रमा जाँदा पर्यटकले अपनाउनैपर्ने नियम, उच्च हिमाली क्षेत्रमा जाँदा पर्यटकले ध्यान दिनुपर्ने कुराहरुका बारेमा  पर्यटकलाई जानकारी दिन्छ ।

ट्रेकिङ मौसम सुरु भएसँगै जिल्लाका विभिन्न भागका पर्यटन व्यवसायीहरु लुक्ला पुगेका छन् । असोजको पहिलो साता बितिसक्दा मौसममा अघिल्ला वर्षहरुभन्दा खासै खराबी नआएको हुँदा कतिपय पर्यटकको हवाई उडान नियमित भएकाले प्रत्यक्षरुपमा पर्यटन व्यवसायीहरु खुसी भएका छन् ।
पर्यटन टोली आउने भएपछि खुम्बु हिँड्नुभएका सोलुखुम्बु केरुङका तेण्डी शेर्पाले गतवर्षभन्दा यसवर्ष मौसम राम्रो भएकाले समयमा नै पर्यटक आउन थालेको बताउनुभयो ।  

मौसम सुरुसँगै पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायतका ठाउँमा रहेका होटलहरु खचाखच हुन थालेका छन् । त्यस्तै पर्यटक भरियाका लागि सोलुखुम्बुको तल्लो भेगबाट मजदुरहरु दसैँ मान्न छाडेर पैसा कमाउन धमाधम खुम्बु क्षेत्र जान थालेको छन् ।

असोजको आरम्भसँगै पर्यटकको चाप बढ्नुलाई पर्यटन व्यवसायीहरुले यसवर्ष पर्यटक आगमनको वृद्धि हुने सङ्केतका रुपमा लिएका छन् । सन् २००५ यता सगरमाथा राष्ट्रिय निकुञ्जमा बर्सेनि २५ हजारको हाराहारीमा पर्यटक आउने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

No comments: