Tuesday, September 9, 2014

कहिले पुग्ने लक्ष्यमा ?

प्रकाश खालिङ

वार्षिक दश लाख पर्यटक भित्र्याउने भनेर पर्यटन वर्ष २०११ मनाइयो । त्यसपछि लगत्तै लुम्बिनी भ्रमण वर्ष २०१२ सम्पन्न गरियो । सँगसँगै सन् २०२०मा वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ टुरिजम भिजन २०२० सार्वजनिक गरियो । पर्यटकलाई आकर्षित गर्नका लागि नेपाल सरकारले यस्ता थुप्रै पर्यटन प्रवद्र्धनात्मक अभियानहरु घोषणा गरेको छ । तर लक्षित उद्देश्यहरु हासिल गर्नका निम्ति ठोस कार्यक्रम न सकरारसँग छ नत अन्य निकायसँग नै । यसबीचमा पर्यटनका लागि सँगसँगै, समृद्धिका लागि पर्यटन, स्थायित्वको लागि समृद्धिजस्ता नयाँ नाराहरु बेजोड रुपमा उठाइए । अभियानका उद्देश्यहरु राम्रा छन् । नारा पनि राम्रो हो । तर यी यस्ता अभियानहरुले पर्यटन क्षेत्रमा खासै प्रभाव पारेको देखिएको छैन । एकापट्टि पर्यटन प्रवद्र्धनको नाम मात्र जप्ने खास योजना निर्माण नगर्ने हो भने त्यसको प्रतिफल प्रकारान्तरमा गएर हात लाग्यो शून्य हुन्छ भन्दा अत्युक्ति नहोला ?


तथ्यांकलाई हेर्ने हो भने नेपाल घुम्न आउने पर्यटकको संख्या आजसम्म कहिल्यै पनि आठ लाख उँभो उक्लन सकेको छैन । सन् २००१ देखि २०१३ सम्मको तथ्यांकलाई हेर्ने तुलनात्मक रुपमा नेपाल घुम्न आउने पर्यटकको संख्यात्मक वृद्धि कत्ति पनि भएको छैन । सन् २००१ मा ३ लाख ६१ हजार २ सय ३७ पर्यटकले नेपाल भ्रमण गरेकोमा सन् २००२ मा उक्त संख्या अत्यधिक मात्रामा घटेर २ लाख ७५ हजार ४ सय ६८ मा सीमित हुन पुग्यो । सन् २००३ मा पनि खास उत्साहजनक वृद्धि हुन सकेन । सन् २००३ मा अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि भई ३ लाख ३८ हजार १ सय ३२ भयो भने सन् २००४ मा ३ लाख ८५ हजार २  सय ९७ पुग्यो । त्यसपछि पुनः सन् २००५ मा पर्यटकको संख्यामा गिरावट आएको छ । सन् २००५ मा ३ लाख ७५ हजार ३ सय ९८ मात्रै पर्यटक भित्रियो र सन् २००६ मा ३ लाख ८३ हजार ९ सय २६ पुग्यो । त्यसअनुपातमा सन् २००७ मा अलिकति बढेको देखिन्छ ।

सन् २००७ मा ५ लाख २६ हजार ७ सय ५ पर्यटक नेपाल घुम्न आएका छन् । त्यसपछि सन् २००८ मा पुन घटेर ५ लाख २ सय ७७ मा झ¥यो । सन् २००९ मा पनि खासै पर्यटकको वृद्धि हुन सकेन । सन् २००९ मा ५ लाख ९ हजार ९५६ पर्यटक आए । सन् २०१० मा पर्यटकको संख्यात्मक वृद्धि भएर ६ लाख ८ हजार २६७ पुग्यो भने सन् २०११ मा ७ लाख ३६ हजार २१५ पुग्यो । सोही वर्ष मनाइएको राष्ट्रिय अभियान पर्यटन वर्ष २०११को सकारात्मक प्रभाव सामान्य देखियो । अपेक्षित लक्ष्यमा भने पुग्न सकिएन । सन् २०१२ मा ८ लाख ३ हजार ९२ पुग्यो तर त्यो त्यत्ति धेरै टिक्न सकेन, फलस्वरुप सन् २०१३ मा पर्यटकको संख्या घटेर ७ लाख ९७ हजार ६१६ मा झर्‍यो ।

सन् २००१ देखि सन् २०१३ सम्मको यो तथ्यांकलाई दाजेर विभिन्न खाले टिक्काटिप्पणीहरु हुने गर्दछन् । कही कही यो तथ्यांकले देखाएको पर्यटकको संख्यात्मक बृद्धिलाई उल्लेख्य प्रगति पनि मानिएको छ । तर, सन् २०१३ सम्मको अवधिमा आठ लाखको हाराहारीमा पर्यटक आउनुलाई खास प्रगति मान्नुपर्ने कुनै कारण छैन । करोडौं खर्चेर सञ्चालन गरिएका विभिन्न अभियानको प्रत्यक्ष प्रभाव खासै देखिँदैन । त्यसैले यो बृद्धिदरलाई सामान्य र स्वभाविक मान्न सकिन्छ । यसो भन्नुको अर्थ देशको पर्यटन प्रवद्र्धनात्मक गतिविधि प्रभावकारी हुन सकेन भन्ने हुन्छ । तथापि, अघिल्ला वर्षहरुमा सञ्चालन गरिएका अभियानहरुको बृहत्तर समीक्षा गर्दै वर्तमान र भविष्यको कार्ययोजना तय गर्ने र पर्यटन प्रवद्र्धनात्मक संयन्त्र चलायमान बनाउनुपर्ने बेला आएको छ ।

एकचोटी तामझाम गरेर मनाइने पर्यटकीय अभियानले दिगो पर्यटनको विकास गर्न सक्दैन । देशको पर्यटन विकासका निम्ति व्यापाक प्रचारबाजी पनि आवश्यक छ तर त्यससँगसँगै उचित व्यवस्थापनमा ध्यान दिइएन र नेपाल घुम्न आउने पर्यटकका लागि आवश्यकतालाई पूर्ति गर्न सकिएन भने त्यसले पनि अर्थ राख्दैन । निश्चय पनि नेपाल पर्यटनको प्रचुर सम्भावना बोकेको मुलुक हो । यहाँको प्राकृतिक र सांस्कृतिक सुन्दरता एवं वैभवले पर्यटकलाई मोहित तुल्याउँछ । प्राकृतिक विविधता, सास्कृतिक विविधता, जैविक विविधता, जातीय विविधता, भौगोलिक विविधता, धार्मिक विविधता, मौसमी विविधतालगायतमा नेपाल निकै धनी छ । दृश्यावलोकनका लागि भनेर पर्यटक पैसा खर्च गरेर नेपाल आउने गरेका छन् ।

दशकअघि र हालका दिनमा पनि गन्तव्यमा खासै परिवर्तन हुन सकेको छैन । उही काठमाडौं, उही नगरकोट, उही धुलिखेल, उही सगरमाथा र पोखरा क्षेत्र गन्तव्यका रुपमा रहेका छन् । नयाँ गन्तव्य पहिचान गर्न सकिएको छैन । एक पटक नेपाल आइसकेका पर्यटकलाई पुनः दोहो¥याएर आउने अवस्थाको सिर्जना गर्न पर्यटकीय गन्तव्य र उत्पादनमा विविधिता आवश्यक पर्दछ । यस हिसाबले नेपाली पर्यटन बजार सानो छ भन्दा फरक नपर्ला । पर्यटक नयाँ अनुभव गर्न चाहन्छन् । उनीहरुलाई बढीभन्दा बढी समयसम्म टिकाउन सकियो भने मात्र पर्यटन क्षेत्रका माध्यमबाट नेपाल समृद्ध हुन थप टेवा पुग्ने देखिन्छ । हुन त पछिल्ला समयमा पर्यटन क्षेत्रमा नयाँ प्रोडक्ट आएका पनि छन् । प्याराग्लाइडिङदेखि बन्जीजम्पजस्ता अनगिन्तिी पर्यटन प्रोडक्टहरुको विकास भइसकेका छन् । यसको उचित प्रचारप्रसार र प्रवद्र्धनको खाँचो भइसकेको छ ।
पर्यटन एउटा यस्तो उद्योग हो जसबाट लगानीविना नै प्रतिफल हासिल गर्न सकिन्छ । अहिले देशमा पर्यटनको सम्भावना देख्नेहरु धेरै भइसके । भलै पछिल्लो पटक सरकारले समेत बजेट भाषणमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएकै छ । तर, कुनै पनि सरकारले पर्यटन क्षेत्रको लागि भनेर ठोस बजेट, ठोस कार्यक्रम ल्याउन सकेन । जति ल्याए भाषणमा ल्याए । त्यसको कार्यान्वयन गर्नको लागि ठोस योजना छैन । अहिले हाम्रो एक मात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अवस्था जर्जर छ । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था सुधार हुनुपर्नेमा झन्–झन् समस्याग्रस्त हुँदै गइरहेको छ । अन्य पर्यटकीय पूर्वाधारहरुको वृद्धिविकासको लागि खास काम भएका छैनन् ।

सरकारसँग पर्यटनको लागि उचित कार्यक्रम छैन । पछिल्लो समय नेपालको पर्यटन प्रवद्र्धनको मुख्य हिस्सेदारी नेपाल पर्यटन बोर्ड गरी खानु न मरिजानुको स्थितिमा पुगेको छ । पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्ड र सरकारबीचको तिक्तता कायमै छ । नेपालको पर्यटन क्षेत्र अहिले यस्ता अनगिन्ती समस्याहरुको चक्रव्यूहमा फिसरहेको छ । यस विषयमा सम्बन्धित सरोकारवाला निकायहरु जिम्मेवार भएर निकास निकाल्नेतर्फ अघि बढ्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । यदि त्यसो होइन भने आउँदो वर्षमा नेपाल घुम्न आउने पर्यटकको संख्यामा गिरावट आउने मात्रै नभई समग्र पर्यटन क्षेत्र नै संकटग्रस्त हुने स्थिति नआउला भन्न सकिन्न ।





No comments: