Thursday, September 4, 2014

बजेट छ कार्यक्रम छैन

प्रकाश खालिङ
कार्यक्रम छ बजेट छैन भन्ने कुरा सधैं देखिएको र भोगिएको हो । तर, अब बजेट छ कार्यक्रम छैन भन्ने कुरा पनि नौलो रहेन । ठोस कार्यक्रम बनाउन नसक्दा दैनिक ६० हजार मानिसको ओहरदोहर हुने नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)मा यात्रु सेवासुविधा विस्तारको लागि संकलित रकम सदुपयोगमा ल्याउन सकिएको छैन । अन्तर्राष्ट्रिय हवाई टिकटमा नेपाली र विदेशी यात्रुबाट प्रतियात्रु रु. एक हजारको दरले उठेको रकम सदुपयोगमा ल्याउन नसकिएको हो ।

नेपाल नागरिक उडडयन प्राधिकरण (क्यान)ले विमानस्थल विकास शुल्कवापत उक्त रकम उठाउने गरेको छ । यो टुरिष्ट सर्भिस फी (तीएसएफ)भन्दा बाहेकको शुल्क हो । यसअघि टुरिष्ट सर्भिस फी मात्रै उठाउदै आएकोमा क्यानले गत साउन महिनादेखि टिकटमै जोडेर सो रकम संकलन गर्न थालेको हो । त्यसवापत अहिलेसम्म करोडौं रकम जम्मा भइसकेको छ, तर क्यानले रकम कहाँ कसरी खर्च गर्ने भन्ने ठोस कार्यक्रम अहिलेसम्म पनि बनाउन सकेको छैन । 

क्यान सञ्चालक समितिको बैठकले उक्त शुल्क विमानस्थल स्तरोनत्तिको लागि लागेको ऋण तिर्न भनेर प्रस्ताव अघि सारेको थियो । सोही प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएपछि साउनदेखि कार्यन्वयनमा ल्याइएको हो । अधिकांश ट्राभल व्यवसायीहरु यो शुल्क संकलनको पक्षमा थिएनन् । यात्रुबाट यसरी शुल्क लिएरपनि विमानस्थलको अवस्था ज्यूकात्यु रहेको बेला यता क्यानले भने आफुमातहतका कर्मचारीहरुलाई बोनस खुवाउने तयारी गरिरहेको छ । आर्थिक वर्ष २०६८÷६९ मा भएको ६८ करोड ३६ लाख र २०६९÷७० मा भएको एक अर्ब ८ करोड रुपैयाँ खुद नाफाबाट प्राधिकरणले दुई वर्षको बोनस खाने तयारी गरिरहेको छ । महालेखा लेखा परिक्षकको कार्यलयबाट अन्तिम लेखा परिक्षण नसकेको हुनाले मात्रै बोनस खाने काम रोकिएको हो । अन्तिम लेखा परिक्षण आउने वित्तिकै अर्थबाट स्वीकृति लिएर बोनस बाड्ने तयारी क्यानको छ ।

विमानस्थल विकास शुल्कवापतको रकम सम्बन्धित एयरलाइन्सहरुले सिधै क्यानमा जम्मा जम्मा गर्ने गर्छ । उक्त रकम यात्रुको सेवा सुविधा तथा विमानस्थलको विकासमा खर्चनु पर्ने हुन्छ । विमानस्थलको सेवा सुविधामा खासै सुधार ल्याउन सकिएको छैन । बजेट भएर पनि विमानस्थलको अवस्थामा सुधार नल्याइएको भन्दै सरोकारवाला निकायहरुले विरोध जनाएका छन् ।

नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष डिबी लिम्बुले क्यानले उठाएको एयरपोर्ट डेभलप्मेन्ट चार्जबापतको रकमको सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले जुन शिर्षकमा रकम उठेको हो त्यही शिर्षकमा तुरुन्तै खर्च गर्नुपर्नेमा जोड दिनुभयो । बजेट भएर पनि कार्यक्रम नहुनु सबैभन्दा बढि दुखको विषय भएको बताउँदै अध्यक्ष लिम्बुले तुरुन्तै कार्यक्रम बनाएर कार्यन्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो ।

क्यानका महानिर्देशक रतिसचन्द्रलाल सुमनले भने बजेटअनुसारको कार्यक्रम बनाइसकिएको दाबी गर्नुभयो । एक अर्को प्रसंगमा उहाँले विमानस्थल विकास शुल्कवापत उठेको रकमबाट ऋण तिर्न र विमानस्थलको सेवासुविधा विस्तार गर्नको लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको जानकारी गराउँदै त्यसै अनुरुप खर्च गर्ने बताउनुभयो । ‘विमानस्थल विकास शुल्कवापतको रकम विमानस्थलमा यात्रुको सेवासुविधान विस्तार गर्नको लागि संकलन भएको हो’ महानिर्देशक सुमनले भन्नुभयो–‘जुन शीर्षकमा उठेको हो त्यही शीर्षकमा खर्च गर्नुपर्छ ।’

विमानस्थल स्तरोनत्तिलगायतको ऋणमात्रै अहिले ८ अर्वको हाराहारीमा पुगेको बताइएको छ । एसियन विकास बैंकले नेपाल सरकारलाई १ करोड ७० लाख डलर प्रदान गरेकोमध्ये एक करोड डलर टिआइएको २०२६ गुरुयोजना अनुसार कार्यन्वयन गर्न प्राथमिकतामा राखिएको छ । अन्तर्राष्ट्रिय यात्रु चाप वार्षिक रुपमा उच्च रुपले बृद्धि भइरहेको छ । टीआइएमा यात्रु चाप गत १० वर्षको अवधिमा (सन् २००५ बाहेक) २ अंकको बृद्धिदर देखाएको छ । आउदो सन् २०१५ सम्ममा स्वदेशी तथा विदेशी उडानमा यात्रु संख्या ५८ लाख ५० हजार र २०२८ सम्ममा ९३ लाख १० हजार पुग्न अनुमान टीआइएले गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्न मन्त्रालयले त्रिभुवन विमानस्थल र नेपाल वायुसेवा निगमको सुधार गरि सेवा सुढृद बनाउन यसअघि दश वर्षे बृहत कार्ययोजना सार्वजनिक गरेको थियो । विमानले उडान भर्ने बेलादेखि अवतरण हुदाँका बेलासम्म नियन्त्रणका लागि राखिएका केही उपकरणमा सुधार ल्याउने कार्य अघि बढाइएपनि त्यसलाई द्रुतता दिन सकिएको छैन । अधिकांश मुलुकका अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको सुरक्षा तथा त्यससम्वन्धि हरेक खाले जानकारी लिन अत्याधुनिक उपकरणहरु प्रयोग हुन थालिसकेका सन्दर्भमा नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थललाई पनि त्यसतर्फ अघि बढाउनुपर्ने अहिलेको पहिलो आवश्यकता हुन आउँछ ।

No comments: