सोलुखुम्बु २४, भदौ । सोलुखुम्बुको विभिन्न स्थानमा गरी हालसम्म करिब दुई मेगावाट विद्युत् उत्पादन भइरहेको छ । विभिन्न विद्युुत् गृहबाट उत्पादन भएको दुई हजार ८९ किलोवाट बिजुली जिल्लाका पाँच हजारभन्दा बढी घरधुरीले उपयोग गरिरहेका छन् । जिल्ला ऊर्जा तथा वातावरण शाखा सोलुखुम्बुमार्फत जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएका विद्युत् कम्पनीबाट ३ सय ६९ किलोवाट विद्युत् उत्पादन भई दुई हजार ६ सय ७० घरधुरीले उपयोग गरिरहेका छन् ।
त्यस्तै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र÷राष्ट्रिय ग्रामीण तथा नविकरणीय ऊर्जामार्फत सोलुखुम्बु जिल्लामा रिमरेकले पनि विभिन्न स्थानमा गरी ३५७.७ किलोवाट विद्युत् उत्पादन गरेको छ, सो विद्युत्बाट तीन हजार ८०० घरधुरीले लाभ लिइरहेका छन् । त्यस्तै, सल्लेरी च्याल्सा विद्युत् कम्पनीले पनि ६७३ किलोवाट विद्युत् उत्पादन गरी सदरमुकाम र आसपास क्षेत्रका एक हजार ५३६ घरधुरीले लाभ लिइरहेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीले जनाएको छ । खुम्बु क्षेत्रमा पनि खुम्बु विद्युत् कम्पनीले ६०० किलोवाट विद्युत् उत्पादन गरी ८०२ घरधुरीलाई सेवा दिइरहेको खुम्बु विद्युत् कम्पनीले जनाएको छ ।
त्यस्तै, जिल्ला विकास समितिको कार्यालयअन्तर्गत रहेको दुर्गम क्षेत्र विकास समितिमार्फत जिल्लाको बासा, काँकु, जुभिङ, भकाञ्जे आदि स्थानमा गरी ९० किलोवाट विद्युत् उत्पादन भइरहेको जिल्ला विकास समितिले जनाएको छ । यसबाहेक जिल्लाको चौलाखर्कका बासिन्दाले रामेछापमा उत्पादन भएको करिब १०० किलोवाट विद्युत् उपयोग गरिरहेका छन् भने फोर्चे, जुभिङलगायत क्षेत्रमा विभिन्न विदेशी व्यक्तिहरूको सहयोगमा थप विद्युत् उत्पादन र उपयोग भइरहेको छ । रासस

No comments:
Post a Comment