काठमाडौं, १८ साउन : परीक्षा
नियन्त्रण कार्यालय सानोठिमीले मंगलबारबाट सुरु गर्ने एसएलसी पूरक (मौका)
परीक्षाको लागि देशभर २ सय ३४ वटा परीक्षा केन्द्र तोकेको छ । २०७० को
एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण परीक्षार्थीका लागि सञ्चालन
गर्ने मौका परीक्षाको तयारी पूरा भएको परीक्षा नियन्त्रक विष्णुबहादुर
द्वारेले आइतबार जानकारी दिए ।
एक लाख २० हजार ६२७ जना परीक्षार्थी
सहभागी हुने परीक्षाका लागि आवश्यक सम्पूर्ण सामग्री जिल्ला जिल्लामा
पुर्याइसकिएको बताउँदै उनले पूरक परीक्षाको परीक्षा केन्द्र सदरमुकाम
केन्द्रित गरिएको जानकारी दिए । परीक्षामा सबभन्दा बढी अनिवार्य गणित
विषयमा ६८ हजार २ सय ३०, विज्ञानमा ५० हजार ७ सय १९ र अनिवार्य अङ्ग्रेजी
विषयमा ३३ हजार ७७ जना परीक्षार्थी सहभागी रहने छन् ।
ऐच्छिक गणितमा १० हजार ६३९, सामाजिक
शिक्षामा १७ हजार १ सय ६४, नेपालीमा दुई हजार २ सय ९१ परीक्षार्थी छन् ।
परीक्षा नियन्त्रक द्वारेका अनुसार एक विषयमात्र परीक्षा दिने परीक्षार्थी
५४ हजार ३९२ जना र दुई विषयको परीक्षा दिने परीक्षार्थी ६६ हजार २३५ जना
रहेका छन् । कार्यालयका अनुसार साउन २० गते अनिवार्य
अङ्ग्रेजी र वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण र अनुवाद, २१ गते
अनिवार्य नेपाली र गैरनेपाली परीक्षार्थीका लागि अङ्ग्रेजी, २२ गते
अनिवार्य गणित, २३ गते अनिवार्य विज्ञान र वेद विद्याश्रमतर्फ अनिवार्य
संस्कृत भाषा र साहित्य, २४ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा तोकिएको
छ ।
त्यसैगरी २५ गते अनिवार्य स्वास्थ्य,
जनसङ्ख्या तथा वातावरण शिक्षा र वेद विद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड,
संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, २६ गते ऐच्छिक प्रथमपत्रका सबै विषयहरु
र २७ गते ऐच्छिक द्वितीय पत्रका सबै विषयको परीक्षा सञ्चालन गर्ने भएको छ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा साउन २७ गते
सम्पन्न हुनेछ ।
No comments:
Post a Comment