Monday, June 2, 2014

पर्यटन व्यवसायीद्धारा आन्दोलन स्थगित

काठमाडौं । पर्यटन बोर्डमा भएको व्यापक अनियमितता र भ्रष्टाचारको विरुद्ध उत्रिएका व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् । पर्यटनमन्त्री भीम आचार्यले विरोध कार्यक्रमहरु तत्काल बन्द गरि छनविनमा सहयोग गर्न आग्रह गरेपछि व्यवसायीहरुले सोमबार पत्रकार सम्मेलन गरि आन्दोलन स्थगित गरेका हुन् ।

मन्त्री आचार्यले आइतबार विज्ञप्ती जारी गरेर छानविन समितिमा विज्ञ तथा निजी क्षेत्रका प्रतिनिधिलाई समेत संलग्न गराएर बोर्ड र अन्य स्थानमा भएका आर्थिक र अन्य गतिविधि छानविन गर्ने आश्वासन दिएका थिए । उनले छानविनको क्रममा दोषी देखिएका जो कोहि व्यक्तिहरुलाई कारबाहीको दायरमा ल्याउने बताएका छन् ।

आन्दोलन स्थगित गर्ने र छानविन समितिमा निजी क्षेत्रलाई सहभागी गराउने विषयमा व्यवसायी र सरकारबीच वार्तासमेत चलेको थियो । मन्त्रीले व्यवसायीहरुलाई विज्ञप्तीमा टेकेर सहमतिमा आउन आग्रह गरेका थिए । मन्त्रीको आग्रहपछि व्यवसायीहरु आपसमा छलफल गरि मन्त्रीको आग्रहलाई स्वीकार गरि छानविनमा सहयोग पुर्‍याउने निर्णय गरेको बताएका छन् ।

संयुक्त पर्यटन समन्वय समिति (जेटीसीसी)ले छानविन समितिमा गणेश सिंखडा र दीपक महतलाई पठाउने निर्णय गरेको छ भने पर्यटन बोर्ड पुनरसंरचना समितिमा जेटीसीसीका संयोजक रमेश धमला र चन्द्र रिजाललाई पठाउने निर्णय गरेको छ । जेटीसीसीले सदस्य सिफारिस गरेर पठाएको २४ घण्टाभित्रमा सरकारले छानविनको कामलाई अगाडी बढाउने आश्वासन दिएको व्यवसायीहरुले बताए ।

आन्दोलन व्यवसायीहरुले जेठ २० गते बस्न लागेको पर्यटन बोर्ड कार्यकारी समितिको बैठकमा सदस्यहरुलाई आन्दोलनको पक्षमा सहयोग पुग्ने खालका निर्णयहरु गर्न अभिप्रेरित गर्ने भएका छन् ।

व्यवसायीहरुले बोर्डका निमिक्त कार्यकारी अधिकृत सुवाष निरौलाले बदलाको भावना राखी सार्वजनिक संचार माध्यमहरुमा दिएका अभिव्यक्तिहरुका बारेमा मन्त्री आचार्यलाई जानकारी गराउने निर्णय गरेका छन् ।

निरौलाको उदण्ड शैली तथा बोर्डको आर्थिक कारोबार छानविन सम्बन्धमा पार्न सक्ने असर र कर्मचारीप्रति गर्न सक्ने प्रतिसोधात्मक व्यवहारलाई समेत रोक्न तत्काल उपाय अवलम्वन गर्न मन्त्रीलाई आग्रह गर्ने भएका छन् ।

बोर्डका कर्मचारीहरुलाई दुःख दिने, निश्कासन गर्ने काम निरौलाबाट भएमा त्यसको विरुद्ध डटेर लाग्ने गणेश सिंखडाले बताए । उनले अरिङ्गालको गोलोमा जानी जानी ढुंगाले नहान्न सुवास निरौललाई चेतावनी दिए । उनले भ्रष्टाचारी निरौलालाई बोर्डमा प्रवेश गर्न नदिने बताएका छन् । छानविन पुरा नभएसम्म निरौलालाई बोर्डमा उपस्थित हुन नदिने उपयुक्त व्यवस्थाका लागि व्यवसायीले मन्त्रीसमक्ष अनुरोध गर्ने निर्णयसमेत गरेका छन् ।

No comments: