सङ्खुवासभा, बैशाख ७– गुराँसको राजधानी भनेर चिनिने क्षेत्रमा यसवर्ष एउटा पनि गुराँस फुलेन । विश्वको एकमात्र गुराँसको राजधानी भनेर चिनिएको विश्व सम्पदा संरक्षणको सूचीमा रहेको तीन जिल्लाको सङ्गमस्थल तिन्जुरे मिल्के जलजले(टीएमजे) क्षेत्रमा गुराँस नफुल्दा गुराँस पर्यटकहरु अचम्मित पर्नुका साथै निरास भएर फर्कनुसमेत परेको छ ।
नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष जस्तै यसवर्षपनि पर्यटक गुराँस फुलेको हेर्न, गुराँससँगै रमाउन, फोटो खिच्न परिवारसहित तेह्रथुम, ताप्लेजुङ र सङ्खुवासभाको सङ्गमस्थल टिएमजे क्षेत्र आएका थिए ।
वसन्त ऋतुको आगमनसँगै तिन्जुरे मिल्के जलजलेमा २८ प्रजातिका लालिगुराँस फुलेर रङ्गीविरङ्गी हुने गर्दछ जुन दृश्य आफ्नो क्यामारा र आँखामा कैद गर्न जोसुकै लालयित हुने गर्दछन् तर यसपटक भने फागुनबाट फुल्न सुरु गर्नुपर्ने गुराँस अहिलेसम्म नफुल्दा पनि कसैको ध्यान यता नजानु विडम्बना भएको स्थानीयले बताए ।
विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजातिका गुराँस पाइने टिएमजे क्षेत्रमा वार्षिक हजाराँै पर्यटकले भ्रमण गर्ने गर्दछन् भने गुराँस फुल्ने समय फागुन अन्त्यदेखि असारसम्म आन्तरिक पर्यटकहरुको घुइँचो पाइने गर्दछ ।
वनस्पतिविज्ञ तिर्थबहादुर श्रेष्ठ ले जलवायु परिवर्तनसँगै गुराँस फुल्ने समयमा पनि परिवर्तन आएको हुनसक्ने भन्दै वषैपिच्छे यस क्षेत्रमा गुराँस फुल्ने समय परिवर्तन हँुदै गएको बताए ।
गुराँसको फूल मनोरञ्जनको साधनमात्रै नभएर औषधिका रुपमा पनि प्रयोग हुने भएकाले गुराँसको महत्व यस क्षेत्रका बासिन्दामा अझ बढि रहेको छ । माछा खाँदा माछाको काँडा अड्किएमा गुराँसको फूल खाँदा निक्लने र गुराँसको फूल नभए गुराँसभन्दा पनि काँडा निस्कने विश्वास यहाँका वासिन्दामा रहेको छ ।
यसपटक गुराँस नफुल्नुमा झुसिलकीराको बिगबिगि पनि एउटा कारण रहेको स्थानीय वृद्धवृद्धाहरु बताउँछन् । यसपटक टिएमजे क्षेत्रमा अत्याधिक झुसिलकीरा भएका कारण भुसिलकीराले फुल्न लागेका गुराँसको फूलको रस चुसिदिनाले गुराँस फुल्न नसक्ने भएको स्थनीय प्रेमबहादुर पौडेलको भनाई उद्धृत गर्दै राससले जनाएको छ ।

2 comments:
ramro 6.
Post a Comment