Thursday, March 6, 2014

सोलुखुम्बुका लागि रोयल्टी बापतको रकम पौने ३२ करोड


काठमाडौ । सरकारले ११ जिल्लालाई हिमाल आरोहण बापतको रोयल्टी निकासा गरेको छ । मन्त्रालयले निर्देशिका जारी गर्दै सोलखुम्बु, मुस्ताङ, मनाङ, ताप्लेजुङ, रसुवा, संखुवासभा, दोलखा, म्याग्दी, गोरखा, लम्जुङ र कास्की जिल्लाका लागि रोयल्टी निकासा गरेको हो ।
सोलुखुम्बुले सबैभन्दा बढी ३१ करोड ७२ लाख ३ हजार ६ सय २१ रुपैयाँ पाएको छ । मुस्ताङले १५ लाख २३ हजार, मनाङले ६० लाख ६४ हजार ६ सय, ताप्लेजुङले ८ लाख २७ हजार १ सय २५, रसुवाले ३० लाख ८ हजार ७ सय ५४, म्याग्दीले १९ लाख ७८ हजार, गोरखाले ११ लाख ५५ हजार ६ सय र लमजुङले ३८ लाख ५० हजार २ सय रुपैयाँ पाएका छन् । कास्की, दोलखा र संखुवासभाले भने त्यसअघि नै प्राप्त गरिसकेका थिए ।५ वर्षमा  सबैभन्दा बढी सोलखुम्बुका हिमालहरुबाट १ अर्ब २१ करोड ५७ लाख ७५ हजार २ सय ४२ रुपैयाँ दस्तुर प्राप्त भएको छ ।


 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अर्थ र स्थानीय विकास मन्त्रालयबीच समन्वय नहुँदा आव ०६५र ६६ यता केही जिल्लामा बाहेक हिमाल आरोहणको रोयल्टी निकासा हुन सकेको थिएन । पर्यटन मन्त्रालयले पर्वतारोहण रोयल्टी बाँडफाँड तथा परिचालन निर्देशिका ०७० जारी गर्दै अब प्रत्येक वर्ष सम्बन्धित जिल्लामा रोयल्टी निकासा गर्ने जानकारी दिएको छ । उसले ३४ करोड ३३ लाख ४ हजार ४ सय रुपैयाँ रोयल्टी बाँडफाँट गरेको छ । गत वर्ष १ करोड ५४ लाख ८८ हजार रुपैयाँ रोयल्टी वितरण गरिएको थियो ।

हिमाल आरोहणको रोयल्टी निकासाका लागि स्थानीयले मन्त्रालयमा पटक–पटक दबाब दिएका थिए । सरकारले पहिलेदेखि नै निकासा गर्ने गरे पनि ठूलो रकम बाँकी थियो । हिमाल आरोहणबापत उठेको सलामी दस्तुरको ३० प्रतिशत रकम सम्बन्धित हिमाल रहेका जिविसलाई दिनुपर्ने प्रावधान छ । रोयल्टी पाउने जिल्लाले पर्यटकीय सडक, गोरेटो, घोडेटो, पर्यटन पदमार्ग, बेसक्याम्पसम्मको पहुँच मार्ग, पूर्वाधार निर्माण गर्नुपर्ने व्यवस्था छ । यो वर्ष बक्यौता रोयल्टी निकासासँगै विवाद टुंगिएको मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले बताए ।

No comments: