अदालतको अन्तिम निर्णय नभएसम्म केसीलाई सभासद्को हैसियत
काठमाडौं । संविधानसभा अदालतले सोलुखुम्बुबाट निर्वाचित काङ्ग्रेसका सभासद् बलबहादुर केसीलाई अदालतले अन्तिम निर्णय नभएसम्म सभासद्को हैसियतले काम बाटो खुला गरिदिएको छ ।
विभिन्न क्षेत्रबाट हालसम्म परेका २० उजुरीमध्ये निर्वाचनमा धाँधली गरिएको भन्दै पहिलो उजुरी परेका केसीका तर्फबाट बहस गर्नुभएका कानुन व्यवसायी यदुनाथ खनालले उजुरीकर्ता अदालतमा उपस्थित नभएको र उनका तर्फबाट कुनै पनि कानुन व्यवसायीले बहस पनि गर्न नआएकाले अदालतले यस्तो आदेश गरेको बताए ।
‘निर्वाचनका बेला धाँधली गरेर नेता केसी विजयी भएकाले सभासद्को हैसियतले सपथलगायत कुनै पनि कार्य नगर्न नगराउन’ अन्तरकालीन आदेश माग गर्दै एकीकृत नेकपा(माओवादी)का गोम्बु शेर्पाले गत मङ्सिर १२ गते अदालतमा उजुरी दर्ता गरेका थिए ।
अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्यद्वय गिरीशचन्द्रलाल र सुशीला कार्कीको इजलासले सो उजुरीमा अन्तरकालीन आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको र अन्तिम निर्णय नभएसम्म यथास्थितिमा राख्ने आदेश दिएकाले हालका लागि बाटो खुला भएको उपरजिस्ट्रार विश्वराज पौडेलले जानकारी दिए ।
आजदेखि संविधानसभा निर्वाचनका सम्बन्धमा परेका उजुरीको सुनुवाइ प्रारम्भ भएको छ ।
रासस
No comments:
Post a Comment