प्रकाश खालिङविश्वको सर्वोच्च शिखर सगरमाथा चुचुरोमा मानव जातिले पहिलो पटक पाइला राखेको छ दशक पूरा भएको छ । यस अन्तरालमा हजारौं स्वदेशी तथा विदेशी आरोहीहरुले सगरमाथाको सफल आरोहण गरेर विभिन्न किसिमका कीर्तिमानी राखेका छन् । सन् १९५३ मा आरोहीद्वय नेपाली नागरिक तेन्जिङनोर्गे शेर्पा र न्युजिल्याण्डका नागरिक सर एड्मन्ड हिलरीले एकसाथ सगरमाथाको चुचुरो चुमेयता करिब ५ हजार जनाले सगरमाथाको आरोहण गरिसकेको तथ्याङक छ । यो संख्या अझै तीब्र गतिमा बढोत्तरी भइरहेको छ । यो ६ दशकको अन्तरालमा सगरमाथाले थुप्रै इतिहास रच्यो । जसलाई सकारात्मक र नकारात्मक दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । यत्तिबेला सगरमाथाको सकारात्मक पक्षभन्दा पनि नकारात्मक पक्षलाई बढी कोट्याउन थालिएको पाइन्छ । समग्रमा भन्नुपर्दा विभिन्न कारणले गर्दा सगरमाथाले जुन रुपमा विश्व समुदायलाई आफूतिर ध्यानाकर्षित गर्नुपर्ने थियो त्यो गर्न सकेन । पटकपटक मापदण्डविपरित विभिन्न गतिविधिहरु सञ्चालन गर्नुले पनि विश्वसमुदायको सगरमाथाप्रतिको आकर्षण घट्दो छ ।
सगरमाथाको नाममा कमाउ धन्दा गर्नेहरुको बिगबिगी बढेको छ भने व्यवसायीहरुले आफ्नो स्वार्थपूर्तिका निम्ति अवैधानिक क्रियाकलापहरु सञ्चालन गर्ने क्रम पनि दिनप्रतिदिन बृद्धि भइरहेकै छ । त्यत्ति मात्रै नभएर देशीविदेशी माफियाहरुले सगरमाथालाई सकेसम्म समाप्त पार्ने चलखेल जारी राखेका छन् । सगरमाथाको वास्तविक उचाईको विषयमा उत्पन्न भएको विवाद होस् या सगरमाथाको नाममा हुने विभिन्न कुकर्तुतहरु नै किन नहुन्, ती सबै देशभित्र र बाहिरका माफियाहरुको चलखेलकै उपज हुन् । राज्य संयन्त्र फितलो हुनुले गर्दा सर्वोच्च शिखर सगरमाथा पटक पटक विवादै आएको छ । पछिलो पटक सगरमाथाको वास्ताविक उचाईबारे सन् १८५६ देखि सुरु भएको बिबाद अझै साम्य पार्न सकएिको छैन । चीन र अमेरिकाले सगरमाथाप्रति आँखा गाडेका कारण उचाई विवाद साम्प पार्न नसकिएको हो । हाल नेपालले सगरमाथाको वास्ताविक उचाई ८ हजार ८ सय ४८ मिटर (२९,०२८फीट) लाई मान्यता दिदै आएको छ । १९५५ मा भारतीय सर्वेक्षण टोलीले नापेको आधारमा सो उचाई कायम गरिएको थियो । तर, अमेरिकाले सन् १९९९ मा जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रविधिबाट सगरमाथाको उचाइ मापन गरी ८ हजार ८ सय ५० मिटर निर्धारण गरेको छ । यता, चिनले भने चट्टानी उचाइ ८ हजार ८ सय ४४ दशमलव ४३ मिटर र हिउसहितको उचाइ ८ हजार ८ सय ४८ मिटर भनेर दुईवटा मापदण्ड राख्न सकिने प्रस्ताव अघि सारेको छ । त्यस्तै सगरमाथाको ढुंंगाबाट घडी उद्योग खोलिएको, अवैध तरिकाबाट बग्रेल्ती क्यामराहरु जडान गरिएको, सगरमाथा सफाईको नाममा करोडौंको रकम अनियमितता हुने गरेको, अवास्तविक कीर्तिमानीहरुको बिगबिगी बढेको तथा सगरमाथामा विदशी आरोहीलाई कुटिएको जस्ता घटनाहरु अहिले पनि ताजै छन् । पछिल्लो समयमा जलवायु परिवर्तनको असरले गर्दा सगरमाथा खुइलिदै गएको तथ्यांक सार्वजनिक भएको छ । सगरमाथाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा प्रत्यक्ष वा परोक्ष रुपले नकारात्मक सन्देशहरु प्रवाह भइरहेका छन् । यी यावत समस्याहरुको कारणले सर्वोच्च शिखर सगरमाथाको महत्व विस्तारै घट्दै गइरहेको छ । यो हाम्रो लागि दुर्भाग्य हो ।
पछिल्लो समय जलवायु परिवर्तनको असरले हिमालय क्षेत्रलाई नराम्ररी गाँजेको धेरै भइसक्यो । सोहि कारणले गर्दा विश्वको सर्वोच्च शिखर सगरमाथाले आफ्नो पहिचान गुमाउनुपर्ने खतरा बढेर गएको छ । पछिल्लो पटक इटालीको मिलान विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका नेपाली विद्यार्थी सुदिप ठकुरी सहितको टोलीले सार्वजनिक गरेको एक अध्ययनले सगरमाथामा हिउँ तथा बरफको मात्रा उच्च दरमा घट्दै गएको र सगरमाथा निरन्तर खुइलिँदै गएको देखाएको छ । सगरमाथा चुचुरो तथा सगरमाथा शिखरसमेत रहेको सगरमाथा राष्ट्रिय निकुञ्जका विभिन्न क्षेत्रमा गरिएको अध्ययनले सन् १९६० को दशकदेखि त्यस क्षेत्रमा तापक्रम बढ्न थालेको र सगरमाथा क्षेत्रका कतिपय ससाना हिमनदीहरु लोप भैसकेको बताइन्छ । टोलीकाअनुसार पछिल्लो ५० वर्षमा सगरमाथा क्षेत्रका हिमनदी १३ प्रतिशतले खुम्चिएका छन् भने सगरमाथा क्षेत्रको हिमरेखा १८० मिटरले माथि सरेको छ । तथापि जलवायु परिवर्तन र हिमालयमा आएको यस्तो परिवर्तनले सगरमाथाको पहिचान गुम्ने खतरा बढेर गएको छ ।
अहिले सगरमाथा आरोहण गर्ने क्रममा विश्वविख्यात आप्पा शेर्पाले २१औं पटक सगरमाथाको सफल आरोहण गरि विश्व कीर्तिमान कायम गरे भने ७६ वर्षीय मिनबहादुर शेर्चन सबै भन्दा बृद्ध आरोही, अमेरिकाका १३ वर्षीय जोर्डन रोमेरो सबैभन्दा कान्छा आरोहीको रुपमा कीर्तिमान कायम गरेका छन् । सगरमाथाको कीर्तिमानी कायम गर्ने महिला सहभागिता पनि उत्तिकै मात्रामा बढिरहेको पाउन सकिन्छ । ‘नेपाल तारा’ पाएकी पहिलो महिला आरोही पासाङ ल्हामुपछि सगरमाथामा पाइला राख्ने नेपाली महिलाको संख्या डेढ दर्जन नाघिसकेको छ । हालसम्मको अवस्थामा सोलुखुम्बुकी १६ वर्षिय छम्जी शेर्पा सबैभन्दा कान्छी र जापानकी ७३ वर्षिया तामे बात्नाबेले सबैभन्दा जेठी आरोहीको कीर्तिमान राखेकी छन् । यीलगायत विश्वको शिर भन्दै लगातार सगरमाथा चुम्ने होडबाजी नै चलेको छ । पछिल्लो समयमा यो होडले उग्र रुप लिएको छ । तर लगातारको लगातार चुचुरो चुम्ने होडबाजीले सगरमाथालाई कस्तो असर परेको छ भन्ने हेक्का न राज्यले राख्न सकेको छ न त अन्य निकायहरुले नै । जसले गर्दा वातावरण तथा पर्यावरणमा नकारात्मक असर मात्र परेन सगरमाथा पैसा भए जसले पनि चढ्न सक्छ भन्ने सन्देश जान थालेको छ । अर्थात होड अझै चुलिदै गएर यसको व्यापक दुरुपयोग हुने सम्भावना बढ्दो छ । जति जति थपिदै गयो त्यतित्यत्ति नै सगरमाथाले नकारात्मक परिणाम भोग्नु परिरहेको अवस्था छ । विना तयारी गरिने चढाई र होडबाजीले स्वयं आरोहीको ज्यान त जोखिममा परिनै हाल्छ, अझ पछिल्लो समयमा विश्व विख्यात शेर्पा र आरोहीबिचको सुमधुर सम्बन्धमा समेत आँच आउन थालेको छ ।
यीयस्ता यावत समस्याहरुको कारणले सगरमाथाप्रति विश्वसमुदायमा जुन महत्व हुनुपर्ने हो त्यो विस्तारै घट्दै गएको छ । सगरमाथावारे राष्ट्रिय तथा अन्तराष्ट्रिय जगत्मा प्रत्यक्ष वा परोक्ष रुपले नकारात्मक सन्देशहरु प्रवाह भइरहेका छन् । यसप्रति सरकार, सम्बन्धित सरोकारवाला निकाय र स्वयंं पर्यटन व्यवसायीहरु गम्भीर हुनुपर्दछ । सगरमाथा हीरक जयन्तीको सुअवसरमा सगरमाथाको राम्रो पक्षलाई बढीभन्दा बढी प्रचारप्रसार गर्ने र नराम्रा पक्षलाई निर्मूल पार्ने संयन्त्रको विकास गर्न सक्नुपर्दछ । ता कि त्यसको माध्यमबाट सगरमाथाको बारेमा विश्व समुदायबीच अत्यधिक मात्रामा प्रचारप्रसार गर्दै यसबाट राष्ट्रले प्राप्त गर्नुपर्ने उपलब्धिहरु हासिल गर्न सकियोस् ।
news3prakash@gmail.com
news4shikharpost@gmail.com

No comments:
Post a Comment