साधुराम महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति (फोटो फिचसरसहित)
नेपाल प्राईभेट पर्यटक यातायात व्यवसायी संघ (एनपीटीभीए)ले आफ्नो पाँचौं वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न गरेको छ । संघले पाँचौं वार्षिक साधारण सभाबाट साधुराम महर्जनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतबाट चयन गरेको छ । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा ध्रुवकुमार विष्ट, द्धितिय उपाध्यक्षमा रामकृष्ण प्याकुरेल, महासचिवमा सन्तोष न्यौपाने, सचिवमा शिव कुमार केसी, कोषाध्यक्षमा दीपक कुमार थापा सर्वसम्मत चयन हुनुभएको छ भने सदस्यहरुमा अर्जुन बहादुर सिलवाल, श्यामप्रसाद चौलागाई, राजु देउजा, शिबराज घिमिरे, विष्णु श्रेष्ठ, पुण्यराम थुया चयन हुनुभएको छ । क्रमश:.......
सोही अवसरमा संघले ‘नेपाल प्राईभेट यातयात व्यवसायीहरुको समस्या र चुनौति’ विषयक बहस कार्यक्रम पनि आयोजना गरेको छ । कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्यालले नेपालको पर्यटक यातायात क्षेत्रमा देखिएको समस्या छलफलबाट समाधान गर्नुपर्ने बताउनुभयो । पर्यटक वसपार्क निर्माण, सवारी दर्ता, नवीकरण र रातो नम्बर प्लेटका सवारी साधनले पर्यटक बोक्दा कारबाही गर्ने विषय अहिलेको टड्कारो समस्या भएको भन्दै यो समस्या समाधानका लागि आफ्नो पक्षबाट जहिले पनि सहयोग गर्न तयार रहेको पनि उहाँले बताउनुभयो । 
पर्यटन मन्त्रालयका सचिव सुशील घिमिरेले पुराना ऐन कानुनले गर्दा पर्यटन व्यवसाय समस्या नै समस्यामा गुज्रनुपरिरहेको भन्दै पर्यटक यातायातको क्षेत्रमा देखिएको समस्या समाधानका लागि मन्त्रलायले सक्दो पहल गर्ने बताउनुभयो । सोही अवसरमा भौतिक योजना तथा यातायात मन्त्तालयका सचिव तुल्सी सिटौलाले सवारी साधनका धेरै खाले नम्बरप्लेटहरु हुँदा समस्या उत्पन्न भएकाले मन्त्रालयले यसलाई सिमित गर्ने तयारी गरेको बताउनुभयो । नेपालको यातायात व्यवस्था ऐन परिमार्जन भइरहेको हुँदा प्राइभेट यातायातको समस्या पनि त्यसमा सम्बोधन गर्ने उहाँले जिकिर गर्नुभयो ।
ट्राफिक प्रहरी महाशाखा रामशाह पथका एसएसपी राजेन्द्र श्रेष्ठले नेपाल प्राईभेट यातायात व्यवसायीको समस्या र त्यसको निराकरणका विषयमा मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बरिष्ठ पर्यटन व्यवसायी दीपक महत, टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)का अध्यक्ष हरेराम बराल, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)का महासचिब अच्यूत गुरागाई, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया, रिपोर्टर्स कल्व नेपालका अध्यक्ष ऋषि धमलालगायतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा बरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, वरिष्ठ पर्यटन व्यवसायी नवराज दाहाल, रसुवा—नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने, विक्रम पाँडे, गाउँ पर्यटन प्रवद्र्धन मन्च (भिटोफ नेपाल) का महासचिव कमल सापकोटालगायतको उपस्थिति रहेको थियो ।

संघका महसचिव सन्तोष न्यौपानेले पर्यटन मन्त्रालयको स्थापना हुनु अगाडि देखिनै नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई सेवा दिदै आएका सवारीहरुलाई विभिन्न वाहानामा कारबाही गर्ने गरिएकोमा गुणासो गर्नुभयो । हरियो प्लेटका सवारीले मात्र पर्यटकलाई सेवा दिन नसक्ने भन्दै उहाँले यसतर्फ सरोकारवाला निकायको ध्यान जानुपर्ने बताउनुभयो । सो अवसरमा गन्तव्य नेपाल राष्ट्रिय पर्यटन पक्षिकका अध्यक्ष एवं प्रधानसम्पादक शिव अधिकारी र महानगरिय ट्राफिक प्रहरी प्रभाग दरवारमार्गका ट्राफिक प्रमुख सिताराम हाछेथुलाई सम्मान गरिएको थियो ।


No comments:
Post a Comment