Thursday, July 18, 2013

पर्यटकीय संस्थामा पद हत्याउने दाउपेच


 प्रकाश खालिङ 

 

 

पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाहरुको नेतृत्व प्राप्तिका निम्ति अहिले त्यस्तो माहोल सिर्जना भएको छ, मानौ ‘यहाँ पर्यटकीय संस्थाको चुनाव नभएर संविधान सभाकै चुनाव भइरहेको होस् ।’


असङ्लिदो राजनीतिक परिस्थितिबीच पनि देशमा संविधान सभाको दोस्रो चुनावी माहोल बढिरहेको अवस्था छ । शहरका फुटपाथ÷चोकमा होस् या दुरदराजका ती गाउँबस्तीहरुमा नै किन नहोस, सबैतिर चुनावी बहस जारी छ । अहिले राजनीतिक दलका नेता कार्यकताहरु आफ्नो सिमित स्वार्थमा निहित भई कित्ताकाट गर्नमा व्यस्त भइरहेका छन् । छिन्नभिन्न राजनीतिक दलहरु विभिन्न बहानाबाजी गरेर फेरी पनि आफ्नो बर्चस्व कायम राख्ने अपेक्षाका साथ उत्रिरहेका छन् । यसरी देश चुनावी माहोल चरमोत्कर्षउन्मुख भइररहेको बेला आर्थिक मेरुदण्ड मानिने पर्यटन क्षेत्रमा पनि एक प्रकारको माहोल सिर्जना भएको छ । समग्र पर्यटन विकासले तीब्रता पाएसँगै पर्यटकीय गतिविधिहरु थपिने क्रम जारी छ । त्यससँगसँगै व्यवसायिक हकहितको लागि भन्दै स्थापित पर्यटकीय संघसंस्थाहरु पनि च्याउसरी उम्रिएका छन् । पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाहरुको नेतृत्व प्राप्तिका निम्ति अहिले त्यस्तो माहोल सिर्जना भएको छ, मानौ ‘यहाँ पर्यटकीय संस्थाको चुनाव नभएर संविधान सभाकै चुनाव भइरहेको होस् ।’

सप्रमाण तथ्याङक नभएपनि पर्यटनलक्षित संस्थाहरुको संख्या काठमाडौंमा मात्रै दुई दर्जन भन्दा बढि रहेको छ । जसमध्ये अधिकांश संस्थाहरु नाममात्रका छन् । पर्यटन बजारलाई नजरअन्दाज गर्दा पर्यटनसम्बद्ध झण्डै दर्जन संघसंस्थाहरुले भने कुनै न कुनै विभिन्नि गतिविधि सञ्चालन गरिरहेका छन् । विशेषत अहिले टे«किङ, ट्राभल, पर्वतारोही, टुरगाइड, ट्रेकिङ गाइड, क्यानोनिङ, राफ्टिङ व्यवसायीहरुको हकहितको लागि खोलिएका संस्थाहरु पर्यटन बजारमा चलायमान मान्न सकिन्छ । पछिल्लो समयमा नेतृत्व चयनका लागि हुन थालेको भागबण्डाले ती संस्थाहरुलाई थप चर्चामा ल्याएको छ । हरेक संस्थामा राजनीतिक दबाव र प्रभाव हावी देखिन्छ । सम्बन्धित संस्थाको नेतृत्व प्राप्तिका लागि विभिन्न गुटउपगुट सिर्जना हुने गरेको छ । एउटा संगठनभित्र नमिलेर अर्को गुट अर्थात कित्ताबाजी गर्ने कसरत भइरहेको छ । सीमित स्वार्थका लागि कित्तामा हानिनेहरु कम देखिदैनन्, चित्त नबुझे आफ्नो संगठनलाई फुटाउनुनै किन नपरोस् । पद हत्याउनकै लागि शक्ति र रकमसमेत खर्चन पछि पर्दैनन् प्रतिस्पर्धीहरु । यो अवस्थाले राष्ट्रिय राजनीतिमा देखिएको फोहरी खेलसँग ठ्याक्कै मेल खान्छ ।
पछिल्लो समय पर्यटनमा टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए)लगायतका ठूलो र आर्थिक रुपमा सम्पन्न संस्थाहरुको नेतृत्व चयनको लागि गर्मागर्मी बहस भइरहेको छ । चुनावको समय नजिकिदै जादाँ स्वतस्फुर्त रुपमा पर्यटन व्यवसायीहरुले चियागफदेखि औपचारिक समारोहमासमेतमा टानकै चुनावको बहस गर्न थालेका छन् । टानको आगामी नेतृत्वको लागि फाइदा र वेफाइदाको जोडघटाउ हुन थालेको छ, पद हत्याउनकै लागि हर्ताकर्ता र व्यवसायीहरुबीच बार्गेनिङ सुरु भएको छ । नेतृत्वका दावेवारहरुले आफुलाई नेतृत्व प्रदान गर्न व्यवसायीहरुसँग सहयोग माग्दै हिड्न थालेका छन् । बहस राजनीतिक भागबण्डातर्फ केन्द्रित बनिरहेको छ । यद्यपी, टानको आगामी चुनाव निश्पक्ष हुने सम्भावना क्षीण बनेको छ ।
यस्तै नेपाल पर्वतारोहण संघ (एनएमए)मा पनि नेतृत्व प्राप्तिको बहसले चर्को रुप लिएको छ । एनएमएको आगामी नेतृत्व चयनका लागि तोकिएको तिथिमितिमा चुनाव हुन नसकेपछि अहिले अनिश्चितकालको लागि चुनाव स्थगित गरिएको अवस्था हो । त्यसैगरी नेपाल एसोसिएशन अफ राफ्टिङ एजेन्ट (नारा)लगायतका विभिन्न पर्यटकीय संघ संस्थाहरुमा पनि नेतृत्वको लागि छलफल जारी छ । राजनीतिक दबाव र प्रभावकै कारण नेपाल पर्यटन वोर्डजस्तो जिम्मेवार निकाय लामो समय प्रमुखविहिन अवस्थामा गुज्रिनु परिरहेको छ । यी त पर्यटन क्षेत्रमा देखिएको केहि प्रतिनिधिमुलक घटनामात्रै हुन् । यसरी संस्थाको नेतृत्व हत्याउनुको पछाडि सम्बन्धित संस्थाको आर्थिक पक्षसँग जोडिन जान्छ । परिस्थितिले स्पष्ट भनिरहेको छ ‘ठूला संस्थाहरुमा धरै बजेट हुन्छ त्यसैले धेरैले आँखा गाडिरहेका छन् त्यो सानो संस्थामा अलिक कम ।’
नेपालमा पर्यटन क्षेत्रका लागि अफसिजन मानिने यो समयको भरपुर उपयोग गर्दै पर्यटन क्षेत्रका हर्ताकर्ताहरुदेखि व्यवसायीहरु यो बहसमा केन्द्रित भएका हुन् । निकट दिनमै हुन लागेको टान र एनएमएलगायतको चुनावमा भीड्नेहरुको ओइरो लागेको छ । पर्यटन क्षेत्रमा सक्रिय राजनीतिक पार्टीका भातृ संगठनहरुभित्र नेतृत्वका लागि कसलाई पठाउने वा कुन पार्टीसँग सहकार्य गर्ने भन्ने विषयलाई लिएर आन्तरिक विवादसमेत चर्किएको देखिन्छ । विशेषतः अहिले एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा–माओवादीको भातृ संगठन (व्यावसायिक संगठन)ले आफ्नो वर्चस्व जमाइरहेका छन् । तिनीहरुबीच आपसी सहकार्य र बेमेल दुईटै देखिन्छ ।
कुनैपनि संस्थामा प्रतिस्पर्धा हुनु आफैमा नराम्रो होइन र त्यसलाई हेर्ने र प्रयोग गर्ने दृष्टिकोण नकारात्मक भएपछि जति राम्रो भनेपनि त्यो राम्रो हुनै सक्दैन । तथापी संस्थाको नेतृत्वले दूरदर्शीता र निश्पक्षता र विशेषत व्यवसायिक हकहितको दृष्टिकोण राख्नसक्नुपर्दछ र सोही अनुरुप कार्यक्रमिक एवं नीतिगत सुधार पक्षलाई समय सापेक्ष सवल बनाउदै लैजानुपर्ने, उपलब्ध स्रोतसाधनको सहि सदुपयोग गरी पर्यटकीय पूर्वाधार निर्माण, नयाँ गन्तव्यको पहिचान गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटन प्रवद्र्धन, राज्यसँग आवश्यकताअनुसार सहकार्य गरी पर्यटन विकासलाई तीब्रतर गतिमा अघि बढाउनुपर्ने बेला आइसकेको छ । सिमित व्यक्ति र समुहको स्वार्थपुर्तिका निम्ति लाग्ने प्रबृत्तिको अन्त्य गर्नका लागि आजैदेखि लाग्नुपर्ने देखिन्छ । अर्को कुरा त्यस्तै विभिन्न शीर्षकमा संकलित करोडौं रकमलाई सही ठाउँमा लगानी गरेर प्रतिफल हासिल गर्न सकिएको अवस्था छैन । व्यवसायिक मर्म र भावना बुझेर नयाँ नेतृत्व चयन गर्ने र नकारात्मक पक्षलाई निर्मुल पार्न आम व्यवसायीहरुले स्वतस्फुर्त रुपमा खबरदारीका साथै नकारात्मक पक्षको कडा प्रतिवाद गरेर अघि बढ्नुपर्ने आवश्यकता खड्किएको छ ।

No comments: