Tuesday, July 10, 2012

गैरजिम्मेवारीले निगम धराशायीः मन्त्री बोगटी

प्रकाश खालिङ- काठमाडौं, असार १७
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले कर्मचारीहरुको गैरजिम्मेवारीले गर्दा नेपाल वायुसेवा निगम धराशायी बन्दै गइरहेको आरोप लगाउनुभयो । ‘जहिले पनि मन्त्रालय एग्रेसिप अनि मन्त्री डिफेन्सिप हुनुपर्ने ? यो सम्भव छैन’, आइतबार राजधानीमा आयोजित निगमको ५४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री बोगटीले भन्नुभयो–‘निगमका कर्मचारीहरुले समयको गतिशीलतालाई पक्रन सक्नुभएन, आफूलाई जिम्मेवारी बोध भएन, सूचनाहरु लिकआउट गर्ने अनि आरुमाथि सबै दोष थोपर्ने लगायतका समस्याहरु छन् । यसको अन्त्य नभएसम्म निगमको सुधार सम्भव छैन ।’
आक्रोशित मुडमा पोडियममा उभिनुभएका मन्त्री बोगटीले सबै तहका कर्मचारीहरुले आफ्नो मर्यादाभित्र रहेर अनुशासितरुपमा आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन पनि दिनुभयो । ‘निगमभित्र राजनीतिक चलखेल बढी हुने भएकाले समस्या उत्पन्न भएको हो’ उहाँले थप्नुभयो–‘कर्मचारी साथीहरु निगमका लागि तपाईहरु आफूभित्र तर्कपूर्ण र तथ्यसंगतरुपमा छलफल बहस कति गर्नुभयो ?’
निगमलाई जहाजको आवश्यकता छ भन्ने कुरा आफूले पनि महसुस गरेको उल्लेख गर्दै मन्त्री बोगटीले यसलाई भाषणमा नभएर विधिविधान र प्रक्रिया मिलाएर अघि बढाउनुपर्ने बताउनुभयो । भविष्यमा नयाँ विमान खरिद गरी निगमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक रुपमा सञ्चालन गर्ने र निगमसँग हाल भएका विमानहरुबाट पनि चुस्त, भरपर्दो र नियमित सेवा दिनुपर्नेमा उहाँको जोड थियो ।
निगमका कार्यकारी अध्यक्ष मनरुप शाहीले जहाज किन्ने सन्दर्भमा निगम व्यवस्थापन पक्ष सक्रियरुपमा लागिरहेको दाबी गर्नुभयो । उहाँले निगमको विकासका लागि ‘आफूमाथि जान पनि तयार रहेको’ भन्ने आफ्नै भाषणको खण्डन गर्दै भन्नुभयो–‘त्यतिबेला कंसकारजी जेलसम्म जानुपरेको थियो, निगमप्रति उहाँ कतिको प्रतिबद्ध हुनुहुन्छ, म पनि त्यत्तिकै प्रतिबद्ध छु भन्ने अर्थमा मैले यस्तो भाषण गरेको थिएँ । त्यसबेला र अहिलेको सन्दर्भ विल्कुलै फरक भइसकेको छ । जहाज भन्नेचिज मैले न्युरोडबाट किनेर ल्याउने कुरा होइन । यसमा सबै निकाय उत्तिकै जिम्मेवार भएर लाग्नुपछ ।’ अध्यक्ष शाहीका अनुसार मलेसियामा प्रतिस्पर्धाका लागि उडान भर्ने निगमको तयारी छ । त्यसैगरी साउदीको रियादमा काठमाडौंबाट सीधै थप उडान भर्ने र दुवईमा पनि उडान भर्नका लागि रुट व्यवस्थापनको तयारी भइरहेको छ ।
एकअर्को प्रसंगमा उहाँले अहिलेको अवस्थामा निगम नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग हातेमालो गरेर जानुको विकल्प नरहेको बताउनुभयो । क्यानका महानिर्देशकलाई स्वतः निगमको सञ्चालक समिति सदस्य बनाउनुपर्ने बताउँदै त्यसको लागि मन्त्रालयबाट आवश्यक प्रक्रिया मिलाइदिन माग पनि उहाँले गर्नुभयो ।
कार्यक्रममा कर्मचारी टे«ड युनियनका प्रतिनिधिहरुले जहाज खरिदको लागि सरकार उदासीन रहेको आरोप लगाए । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेवानीका अध्यक्ष पोषक ज्ञावालीले लाउडा काण्डका नाइकेहरु अहिले पनि मन्त्री र मन्त्रालयको वरिपरि चक्कर लगाइरहेको बताउँदै यो गम्भीर शंकास्पद विषय बनेको बताउनुभयो । निगमका कार्यकारी अध्यक्षले अघिल्लो वार्षिकोत्सवमा निगमका लागि आफूमाथि जान पनि तयार रहेको भन्ने कुराको अन्तिम फैसला गर्ने बेला आएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो–‘अहिले अध्यक्षज्यूलाई दुईवटा विकल्प छ जहाज ल्याउने कि माथि जाने ? त्यसको जवाफ चाहियो ।’ उहाँले सार्वजनिक खरिद ऐनबाट निगमलाई स्वायत्तता प्रदान गर्नुपर्ने माग पनि गर्नुभयो ।
नेपाल वायुसेवा निगम कर्मचारी संघका अध्यक्ष तारणी दाहालले पछिल्लो समयको महंगीका कारण निगमको खर्च कुनै पनि हालतमा घटाउन सक्ने अवस्था नरहेको र उत्ता आम्दानीमा कुनै पनि हालतमा बढाउने अवस्था नभएको भन्दै यही अवस्था रहिरहने हो भने आगामी वर्षको खर्च थेग्न कठिन हुने दाबी गर्नुभयो । निगमले भाडामा लिएर भए पनि चाँडो भन्दा चाँडो उडान सुचारु गर्नुको कुनै पनि विकल्प नभएको उल्लेख गर्दै त्यस कार्यमा टे«ड युनियनहरुको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता  व्यक्त गर्नुभयो ।
२०१५ साल असार १७ गते स्थापना भएको निगमले अहिले आफ्नो दुई वटा बोइङ ७५७ बाट हङकङ, क्वालालम्पुर, बैंकक, दुबई र दोहा गरी ५ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भरिरहेको छ । कुनैबेला निगमले २१ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भरेको थियो ।
आन्तरिकतर्फ कुनै बेला ३९ वटा गन्तव्यमा उडान भरेको निगमले हाल आएर २ वटा ट्वीनअटर विमानबाट २४ गन्तव्यमा मात्र उडान भरिरहेको छ । ८० अर्ब बराबरको व्यापार गर्नुपर्ने निगमले हाल ४ अर्बको व्यापार गरिरहेको बताइएको छ ।
यसैबीच, निगममा २५ वर्षदेखि अनवरतरुपमा सेवा प्रदान गर्दै आएका कर्मचारीहरुलाई सम्मान गरियो ।

No comments: