Monday, March 21, 2011

अन्नपुर्ण आरोहणको लागि तयारी तीव्र पार्दै नेपाली महिलाहरु



प्रकाश खालिङ
काठमाडौं, 

नेपाल पर्यटन वर्ष २०११को अवसर पारेर ४ नेपाली महिला आरोहीहरुले अन्नपूर्ण चौथो हिमालको आरोहणका लागि तयारी तिव्र पारेका छन् ।  पोखरास्थित नेपाल पर्वतारोहण संघ अन्नपुर्ण च्याप्टर, टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) क्षेत्रिय च्याप्टर पोखरा र महिला सशक्तिकरण नेपाल (इडब्ल्यूएन) पोखराको संयूक्त पहलमा उनिहरुले सो हिमाल आरोहण गर्न लागेका हुन् । 
उनिहरुले यहि अप्रिल दोस्रो साताबाट उक्त हिमाल आरोहणको सुरुवात गर्दै छन् । मनाङबाट सुरु हुने सो आरोहण ४२ दिन लाग्ने बताइएको छ । ७ हजार ५ सय २५ मिटर उचाईमा रहेको उक्त हिमालको आरोहण महिलाकोतर्फबाट उनिहरुको यो पहिलो प्रयास हो । यसअघि सन् १९५०मा फेन्च नागरिक मोरिस हर्जोगले यो हिमालको पहिलो आरोहण गरि इतिहास कायम गरेका थिए ।  
आरोहण दलमा सोलुखुम्बुकी निर्मा राई, मनाङ्गकी मनु गुरुङ्ग (मुना), पोखराकी सरस्वति विक र सोलुखुम्बुकी शान्तिकला राई छन् । निर्मा राई सोलुखम्बु जिल्लाको काँकु गाविसमा जन्मकी हुन् । उनि सन् २००२ सालबाट महिला सशक्तिकरण नेपालको महिला पथप्रदर्शक तालिम शुरु गरेकी हुन् । त्यस्तै आरोहण दलकी मुना गुरुङ्ग मनाङ्गबाट सन् २००७ सालबाट महिला सशक्तिकरण नेपालको महिला पथप्रदर्शक तालिम शुरु गरेकी हुन् । उनले यसअघि नै टेण्ट पिक र चुलु वेष्टको पनि सफल आरोहण गरसकेकी छन् । अर्की आराही सरस्वति विक उनि पोखरामा जन्मेर महिला सशक्तिकरण नेपालको पथप्रदर्शक तालिममा सन् १९९९देखि आवद्ध भएकी हुन् । त्यस्तै अर्की आरोही सोलुखुम्बुबाटै आएकी शान्तिकला राई । उनिले पनि महिला सशक्तिकरण नेपालबाट सञ्चालन हुने महिला पथप्रदर्शक तालिम पूरा गरिसकेकी छन् । 
आरोहीहरु चारै जना विगत लामो समययता ३ सिस्टर्स टे«किङ कम्पनीका स्थायी महिला गाइडको रुपमा निरन्तर रुपमा कार्यरत छन् । पछिल्लो केहि समयअघि उनिहरु सन् २०१० अगस्ट र सेप्टेम्बरमा युरोपको पोल्याण्ड र इटालीको भएको एडभान्स क्लाइम्बिङ्ग तालिममा सहभागि भइसकेका छन् ।  
नेपालमा पर्यटन गतिविधि तथा पर्वतीय पर्यटन विकास गरि विभिन्न पूर्वाधार निर्माण र रोजगारीबाट महिला सशक्तिकरण गर्ने उद्देश्यका साथ उनिहरुले यो अभियानको थालनी गरेका हुन् । त्यसका साथै पर्यटन वर्ष २०११मा पर्वतीय पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उनिहरुको लक्ष्य रहेको छ । नेपाल विश्वकै पर्वतारोहणको क्षेत्रमा कृतिमान कायम गर्न प्रतिस्पर्धाको उपयूक्त गन्तव्य स्थलको रुपमा लिइन्छ । 
यो अभियानको क्रममा महिला पथप्रदर्शकको थालनी अन्नपूर्ण क्षेत्रबाटै भएकाले यसको आरोहण कार्यक्रमलाई ‘साहसी महिलाहरुको गन्तव्य अन्नपुर्ण’ पनि भनिएको छ । हाल नेपालको सन्दर्भमा महिलाहरुको उपस्थिति अन्य क्षेत्रमा झै पर्यटनमा पनि न्युन नै छ । उनिहरुको यो आरोहण अभियानको सफलताले नेपाली महिलाहरुको त दरिलो प्रतिनिधित्वका साथै हौसला मिल्छ नै त्यसको अलावा विश्वमै नेपालीहरुको शिर पनि उच्च बनाउन यो कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ । 
उनिहरु सबै अहिले इडब्ल्यूएनमार्फत पथप्रदर्शक र चट्टान आरोहण तालिमसहित साहसिक पर्यटन क्षेत्रमा क्रियासिल रहेको बताइएको छ । कार्यक्रमका सहसंयोजक सोम थापाले उनिहरुलाई अहिले आरोहणको लागि आवश्यक विभिन्न तालिमहरु गराई रहेकोे आर्थिकलाई जानकारी दिनुभयो । उहाँकाअनुसार उक्त आरोहण अभियानको लागि आर्थिक संकलन र अन्य तयारी तिव्र बनाइएको छ ।  
यसअघि संस्थाले महिलाहरुको क्षमता र रुचिको मध्यनजर गर्दै पोल्याण्डको म्याजिक माउण्टेन फाउण्डेशनसँग सहकार्य गरेर सन २००८ मा १२ जना महिलालाई अन्नपुर्ण आधार शिविरबाट टेन्ट पिक (चुचुरा)मा शितकालिन आरोहण तालिम सञ्चालन गरेको थियो । 
दोस्रो पटक सन् २००९मा मनाङ्गको चुलु वेष्टमा तीनै १२ जना आरोहिमाध्येबाट छनोट भएर ४ जनालाई थप लालिम दिलाइएको थियो । त्यस्तै सन २०१०को सेप्टेम्बरमा उनिहरुलाई विशेष प्राविधिक तालिमको लागि यूरोपको पोल्याण्ड र इटलीमा आइस क्लाइम्बिङ्ग तालिमसमेत प्रदान गरिएको थियो ।  उनिहरुको अन्नपूर्ण हिमाल आरोहणको लागि ५६ लाख खर्च हुने अनुमान गरिएको छ । 

No comments: