Tuesday, July 17, 2012

नया बजेटबाट पर्यटन व्यवसायी निराश

काठमाडौं, साउन १
आर्थिक वर्ष २०६९÷०७० को बजेटले पर्यटन उद्योग क्षेत्रलाई राहतभन्दा पनि आहत थपिएको प्रतिक्रिया आउन थालेको छ । आइतबार अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गर्नुभएको एक तृतीयांश बजेटमा पर्यटन उद्योग क्षेत्रको नीतिगत जटिलतालाई सम्बोधन हुने पर्यटन व्यवसायीहरुको अपेक्षा थियो । ‘हामीले पर्यटन उद्योग क्षेत्रमा देखिएको नीतिगत जटिलतालाई समय र परिस्थितिअनुरुप परिवर्तन गर्नुपर्ने कुरालाई जोड दिँदै आएका छौं त्यो कुरा यसपालिको बजेटमा आओस् भन्ने हाम्रो चाहना थियो तर पूरा हुन सकेन’ टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव मोहन लम्सालले भन्नुभयो । नयाँ बजेट पर्यटन उद्योगका लागि ‘हर्ष न विस्मात’ सावित भएको उहाँको भनाइ छ । ‘पछिल्लो समय नेपालमा सात तारे होटेल सञ्चालन गर्नसमेत विदेशीहरु इच्छुक देखिएका छन्’ उहाँले थप्नुभयोे– ‘तर त्यस्ता लगानीकर्ताहरुलाई प्रोत्साहित गर्ने कुरामा सरकार गम्भीर देखिँदैन ।’
बजेटले आफूहरुको अपेक्षाको बेवास्ता मात्रै नभएर पर्यटन विकास गतिलाई समेत ओझेलमा पारिदिएको व्यवसायीहरुको आरोप छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) का उपाध्यक्ष मधुसूधन आचार्यले बजेटले पर्यटन उद्योगलाई निराशा बनाएको प्रतिक्रिया दिँदै भन्नुभयो– ‘यो बजेटले सन् २०२० सम्ममा २० लाख पर्यटक नेपाल भिœयाउने लक्ष्यका साथ घोषणा गरिएको टुरिजम भिजन २०२० लाई एक वर्ष पछाडि धकेलेको छ ।’ उहाँले सार्वजनिक भएको एक तृतीयांश बजेटले गर्दा आन्तरिक पर्यटनमा प्रत्यक्ष प्रभाव पार्ने जिकिर गर्नुभयो । ‘राष्ट्रको पूर्वाधार विकास नभएसम्म पर्यटन उद्योगको पनि विकास हुँदैन’, उहाँले थप्नुभयो– ‘पछिल्लो समय आन्तरिक पर्यटन प्रवद्र्धन तथा विकासले गति लिइरहेको बेला आएको बजेटले त्यसलाई राहत होइन झन नकारात्मक प्रभाव पारेको छ ।’ सरकारले बजेटमा पुरानो कार्यक्रमहरुलाई निरन्तरता दिए पनि प्रायजसो कार्यक्रमले निजी क्षेत्रसँग कुनै सम्बन्ध नराख्ने पनि उहाँले बताउनुभयो ।
बजेटमा नेपाललाई नयाँ कार्यक्रमस्वरुप बलिदानी क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्ने, हिमाली साहसिक खेल वर्ष घोषणा गर्ने र रारा खप्तड र ढोरपाटनमा तारे होटेल खोल्ने लगायतका छन् । आकर्षक र सुरक्षित पर्यटन गन्तव्यस्थलको रुपमा विकास गर्ने, कर्णाली र सिस्ने–जलजला–ढोरपाटन, लुम्बिनी भ्रमण वर्ष २०१२ लाई सफल तुल्याउने, विमानस्थल निर्माण, स्तरोन्नति र मर्मतसम्भार गर्ने, दुईवटा ठूला जहाज खरिद गर्ने, स्वर्गद्वारी, पाथीभरा र गोसाईंकुण्डमा केबुलकार सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बलिदानी क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्ने र ललितपुरको प्याङ्ग गाउँमा सांस्कृतिक पर्यटन प्रवद्र्धन आयोजना सञ्चालन गर्ने लगायतका कार्यक्रमहरु रहेका छन् । ती कार्यक्रमहरु भने पुरानैलाई निरन्तरता दिइएको हो ।
त्यस्तै पूर्वनिर्धारित कार्यक्रमहरुमध्ये नेपाल पर्यटन वर्ष २०११ को राष्ट्रिय अभियानको समापनसँगै घोषणा गरिएको लुम्बिनी भ्रमण वर्ष २०१२ लाई सफल बनाउने तथा टुरिजम भिजन २०२० लाई निरन्तरता दिइएको छ ।  टुरिजम भिजन २०२० अन्तर्गत सन् २०१३ देखि २०२० सम्ममा विभिन्न पर्यटन क्षेत्रहरूलाई समेट्ने गरी पर्यटन अभियान वर्षहरूको घोषणा गरिएको छ । सोअनुसार सन् २०१३ मा सिस्ने–जलजला–ढोरपाटन र कर्णाली पर्यटन वर्ष, सन् २०१४ मा विदेह–मिथिला र सलहेस पर्यटन वर्ष, सन् २०१५ मा विराट–मेची–पहाडी पर्यटन वर्ष, सन् २०१६ मा रुरु–रेसुङगा–पोखरा–अन्नपूर्ण–मनास्लु पर्यटन वर्ष, सन् २०१७ मा सिम्रौन–काठमाडांै–लाङटाङ पर्यटन वर्ष, सन् २०१८ मा अरूण–सगरमाथा पर्यटन वर्ष, सन् २०१९ मा चिसापानीे–खप्तड–रामारोशन पर्यटन वर्ष र सन् २०२० मा आन्तरिक भ्रमण तथा नागरिक उड्डयन वर्षका रूपमा मनाउने घोषणा गरिएको छ ।

No comments: