Tuesday, March 18, 2014

स्थानीय निर्वाचन संघीयता विरोधी भएको बैद्यको आरोप

भोजपुर । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले स्थानीय निर्वाचन संघीयता विरोधी भएको बताएका छन् । नेकपा-माओवादी भोजपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न आइपुगेका अध्यक्ष वैद्यले विस्तृत शान्ति सम्झौतामा उल्लेख नभएकाले स्थानीय निकायको निर्वाचन सो सम्झौता विपरित भएको जिकिर गरे ।


दोस्रो संविधानसभाबाट पनि जनताको संविधान नबन्ने दाबी गर्दै वैद्यले जनताको संविधान सडकबाटै जारी गर्ने बताए । ‘जनताको हित, जनयुद्ध र जनआन्दोलनको मर्मविपरीत कसैले संविधान बनाउँछु भन्छ भने त्यो दिवा सपनामात्र हो’ उनले भने । एकिकृत नेकपा माओवादी संविधानसभामा भएपनि भूमिकाविहीन भएको वैद्यको भनाई थियो । दुई माओवादीवीच एकता आवश्यक रहेको बताउँदै वैद्यले एमाओवादीले कार्यदिशा बदलेर आफूहरुसँग मुद्दा मिलेमा एकता हुने बताए । ‘पार्टी एकता हुन एमाओवादीले जनवादी क्रान्तिको कार्यदिशा समात्नुपर्छ’ अध्यक्ष वैद्यले भने ।

पहिचानसहितको संघीयता स्थापना नभए मूलुक ठूलो दुर्घटनामा फस्ने बताउँदै वैद्यले पहिचानसहितको संघीयताको पक्षमा आन्दोलन गर्ने बताए । मुलुक ०४८ सालतिर फर्केर शान्तिसम्झौता विपरितको काम भैरहेकाले देशलाई सही दिशामा ल्याउन सर्वपक्षीय राजनीतिक सभा गरी राष्ट्रिय सहमति कायम गर्नुको विकल्प नभएको वैद्यको भनाई थियो ।

No comments: