Friday, February 21, 2014

नेपाल पर्वतरोहण संघमा आङछिरिङ शेर्पा प्यानलको जित

नेपाल पर्वतारोहण संघको अध्यक्ष पदमा आङछिरिङ शेर्पा निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का प्रत्यासी उम्मेद्वार निमानुरु शेर्पालाई ठूलो मतअन्तरले पराजित गर्दै उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
नयाँ कार्यसमितिको लागि शुक्रबार सम्पन्न भएको निर्वाचनमा आङछिरिङ शेर्पाको पुरै प्यानल निर्वाचित भएको छ । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा सन्तबीर लामा, द्धितिय उपाध्यक्षमा दिवश विक्रम शाह, महासचिवमा ठाकुर राज पाण्डे, सचिवमा राजेन्द्रमान श्रेष्ठ, कोषाध्यक्षमा टिकाराम गुरुङ निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमो डा. हरि श्रेष्ठ, डा. निमा ग्येल्जेन शेर्पा, छुरिम शेर्पा, कामीनि शेर्पा, पासाङ शेर्पा, लाक्पा शेर्पा, दा ग्याल्जेन शेर्पा, धनबहादुर गुरुङ, पेम्बा दोर्जे शेर्पा रहनुभएको छ । 




सर्वोच्च शिखर सगरमाथाको जिल्ला सोलुखुम्बुको हिमाली गाउँ खुम्जुङमा जन्मनुभएका आङछिरिङ शेर्पा नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्षसमेत हुनुहुन्छ । ४ दशकभन्दा बढि समय पर्यटन क्षेत्रमा खर्चिसक्नुभएका शर्पालाई सालिन, निडर र निस्वार्थ भावले युक्त व्यक्तित्वको रुपमा लिन सकिन्छ । एसियन टे«किङका अध्यक्षसमेत रहनुभएका शेर्पालाई पर्वतीय पर्यटनको ज्ञाताको रुपमा चिन्न सकिन्छ । नेपालको अधिकांश पर्वतीय पर्यटन क्षेत्रको गतिविधिको तिथीमिति र हिमालहरुको अवस्थाबारे उहाँ जानकार हुनुहुन्छ, जुन अरु कसैसँग छैन ।  
विश्व पर्वतारोहण महासंघका आठौं मानार्थ सदस्यसमेत रहनुभएका आङछिरिङ शेर्पाले नेपालको सिंगो पर्वतीय पर्यटनको प्रवद्र्धन र विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । पर्वतीय पर्यटनमा अतुलनीय योगदान पु¥याएवापत शेर्पालाई विश्व पर्वतारोहण महासंघले आफ्नो आठौं मानार्थ सदस्यता प्रदान गरेको हो । जसले उहाँ नेपालको मात्रै नभई विश्वकै पर्वतीय पर्यटनमा विख्यात व्यक्ति मानिनुहुन्छ । विश्व पर्वतारोहण महासंघमा प्रतिनिधित्व गर्ने शेर्पा सिंगो एसियाबाट दोस्रो हुनुहुन्छ भने नेपालबाट पहिलो । 
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु प्राप्त गर्नुभएका शेर्पाले आफैले सगरमाथाको शिखर नचुमेपनि हालसम्म संयौ स्वदेशी तथा विदेशी आरोहीहरुलाई सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमालहरुको सफल आरोहण गराइसक्नुभएको छ । दर्जनौं पर्यटकीय संघसंस्थामा आवद्ध भएर काम गरिसक्नुभएका  शेर्पाको अहिलेको आवद्धता र भूमिकालाई गन्ति गरेर साध्य छैन । अहिले पनि उहाँ तीन दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय संघसंस्थामा क्रियाशिल हुनुहुन्छ । जसमध्ये अधिकांश संस्थामा उहाँ नेतृत्व तहमै रहेर भूमिका निर्वाह गरिरहनुभएको छ । विभिन्न क्षेत्रमा योगदान पुर्‍याएवापत अहिलेसम्म उहाँले दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानसमेत प्राप्त गरिसक्नुभएको छ । 


सन्तबीर लामा
प्रथम उपाध्यक्ष

लामा एडभेन्चर टे«क्स एण्ड एक्सपीडीसनका प्रबन्ध निर्देशक सन्तबीर लामा एनएमएको प्रथम उपाध्यक्ष हुनुहुन्छ । काभे्र जिल्लाको कात्तिके देउराली गाविस वडा नं १ मा जन्मिनुभएका लामाको विगत लामो समयदेखि पर्यटन क्षेत्रसँग उठबस छ । सन् १९७३ देखि पर्यटन क्षेत्रमा लाग्नुभएका लामाले १९८२ मा गाइड टे«निङ लिनुभएको थियो । हालसम्म उहाँले एनएमएका दर्जनौं पीकहरु आरोहण गरिसक्नुभएको छ । ७ हजार मिटर उचाईसम्मका हिमाल आरोहण गरेको अनुभव छ उहाँसँग । पर्यटन सिजनेबल व्यवसाय हो । तथापी उहाँले टे«किङ कम्पनी सँगैसँगै सन् १९८७ देखि नेपालमा कफीको व्यवसायीक खेति सुरु गर्नुभयो । उहाँलाई नेपालमा व्यवसायीक कफी खेति गर्ने पहिलो व्यक्तिको रुपमा पनि चिन्न सकिन्छ । यसको अलावा उहाँले पर्वतीय पर्यटन क्षेत्रमा काम गर्नुभएको छ । ग्रामिण इलाकाको शैक्षिक तथा वातावरण संरक्षणको लागि वृक्षारोपन गर्नेजस्ता उदाहरणीय कामसमेत उहाँले गर्दै आउनुभएको छ ।
एनएमएमा विगत लामो समयदेखि आवद्ध रहँदै आउनुभएका उहाँले ४० वर्षको अन्तरालमा भएका कामहरुको समिक्षा गर्दै नयाँ कामहरुको थालनी र भइरहेका पर्वतीय गतिविधिहरुलाई अझ प्रभावकारी बनाउदै हिमाल र आरोहीहरुको हितका निम्ति काम गर्न  उहाँको भनाइ छ ।


दिवश विक्रम शाह
द्धितिय उपाध्यक्षको प्रत्यासी

दिवश विक्रम शाह पर्वतीय पर्यटन क्षेत्रको लागि विसर्न नहुने नाम हो । शाह आङछिरिङ शेर्पाको प्यानलबाट द्धितिय उपाध्यक्षमा निर्बाचित हुनुभएको छ । काठमाडौंमा जन्मेर अध्ययनको शिलशिलामा दार्जलिङ पुग्नुभएका शाहले त्यहीबाट पर्वतीय पर्यटनको लागि बेसिक टे«निङ लिएर पर्वतीय पर्यटनसँग नजिक हुनुभएको थियो । उहाँ नेपाल फर्केपश्चात एनएमएका लागि आफ्नो बुवाले पु¥याउनुभएको योगदानबाट प्रभावित भएर संस्थामै आवद्ध भएर काम गर्न सुरु गर्नुभयो । केही वर्ष अमेरीका बसाईपछि नेपाल फर्कनुभएका उहाँले तत्पश्चात अन्तर्राष्ट्रिय पर्वतीय पर्यटनको सदस्यता लिनुभएको थियो । कुनपनि संस्थाको संस्थागत विकास गर्नका लागि अघिल्लो कार्यसमितिले संगालेका हरेक अनुभवहरु र सुरुवात गरेका कार्यहरुलाई पछि आउने कार्यसमितिलाई हस्तान्तरण गर्न सकेमात्रै त्यो सार्थक हुने  धारणा उहाँको छ । 
ठाकुर राज पाण्डे
महासचिवको प्रत्यासी


वि.स. २०२२ साल बैशाख ६ गते धादिङको सल्यानकोटमा जन्मिनुभएका ठाकुरराज पाण्डे फस्ट इन्भाइरोमेन्टल टे«किङका प्रबन्ध निर्देशक हुनुहुन्छ । एनएमएको आगामी कार्यसमितिको महासचिव पद  
 मा निर्बाचित हुनुभएका पाण्डेले विए, विएड र सोसोलोजीमा एमए गर्नुभएको छ । पाण्डे १९९२ देखि आफ्नै कम्पनी सञ्चालन गरेर पर्यटन क्षेत्रमा अनवरत रुपमा लागि पर्नुभएको छ ।  ‘नेपालको आर्थिक विकासको मेरुदण्ड पर्यटन हो । विश्वको सर्वोच्च शिखरलगायत अनगिन्ती विभिन्न उचाईका हिमालहरु छन् । एउटा पर्वतीय पर्यटनको माध्यमबाट र विश्व बजारमा अमेरिकापछिको विकसित मुलुक चाइना र उदाउँदो मुलुक भारतको बीचमा हामी छौं । हामीले पर्वतीय पर्यटन तथा पदयात्रा पर्यटन विकास मात्रै गर्न सकियो र यी दुई देशको केही मान्छेलाई नेपाल ल्याउन सकियो भने नेपालको पर्यटनमा कायपलट आउँछ । म होइन, हामी भएर जानुपर्छ’, उहाँले भन्नुभयो । आफु एक्लैले केही पनि गर्न नसकिने बताउँदै उहाँले लामो समयको अनुभव प्राप्त, सबै क्षेत्रको समावेशी टिम भएको हुनाले एनएमएको संस्थागत विकास र यसमार्फत नेपालको समग्र पर्यटन प्रवद्र्धनमा योग्दान पुर्‍याउने सक्ने दृढतासमेत व्यक्त गर्नुभयो । नेपाल पर्वतारोहीहरुको देश भएकोले हाम्रो पहिलो प्राथमिकता भनेको अन्तराष्ट्रिय पर्वतारोहण विश्वविद्यालयको स्थापना गर्ने र त्यसबाट दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस कार्यबाट दैनिक हजारौंको संख्यामा विदेशीने युवा शक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्न सकिने उहाँको बुझाइ छ । 

राजेन्द्रमान श्रेष्ठ
सचिवका प्रत्यासी

काठमाडौंको न्युरोड निवासी राजेन्द्रमान श्रेष्ठ एनएमएको सचिव पदमा निर्बाचित हुनुभएको छ । २००९ मा जुलाई १५ मा जन्मनुभएका उहाँ विगत २७ वर्षदेखि एनएमएमा आवद्ध हुनुभएको हो । वर्तमान कार्यसमिति सदस्यसमेत रहनुभएका उहाँले एनएमएको सचिवालयमा समेत काम गरेर अनुभव बटुलिसक्नुभएको छ । आफुसँग केही गर्ने इच्छाशक्ति भएपनि विभिन्न कारणले गर्न नसकेको बताउँदै उहाँले भन्नुभयो ‘जुन सपना लिएर कार्यसमिति सदस्य भएको थिए, त्यो हुन सकेन । अब केही गरांै भनेर मैले सचिवमा उम्मेद्वारी दिएको हँु ।’ एनएमएबाहेक पनि उहाँले विभिन्न संघसंस्थामा आवद्ध भएर सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँ नेपाल उद्योग संघको अध्यक्ष, नेपाल पर्यटन व्यवस्था संघको केन्द्रीय सदस्य, नेपाल उद्योग व्यवस्था संघको केन्द्रीय सदस्य, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यलगायत हुनुहुन्छ । उहाँले एनएमएको सचिवालयलाई चुस्त र दुरुस्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
 टिकाराम गुरुङ
कोषाध्यक्षका प्रत्यासी

संखुवासभा जिल्लामा जन्मिनुभएका टिकाराम गुरुङ एनएमएको कोषाध्यक्षमा निर्बाचित हुनुभएको छ । मजदुरबाट आरोही हुँदै अहिले सफल व्यवसायीको रुपमा आफ्नो परिचय बनाउन सफल गुरुङ बोची बोची टे«क्सका प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँले हालसम्म ८ हजार मिटर उचाई भन्दा माथिका झण्डै आधार दर्जन हिमालको सफल आरोहण गरिसक्नुभएको छ । काम गरेरै सिक्ने । अन्तर्राष्ट्रिय आरोहीहरुलाई नेपाल आएर तालिम लिन वातावरण तयार गर्न, संघको हरेक काम कार्यक्रमहरुलाई व्यवस्थित बनाएर सञ्चालन गर्ने संयन्त्रको विकास गर्न, संघभित्र हुने गरेका  आर्थिक अनियमितताहरुलाई रोक्ने र पारदर्शी ढंगबाट बजेटहरु उपयुक्त ठाउँमा लगानी गर्ने वातावरण निर्माण गरेर अगाडि बढ्नका लागि मैले कोषाध्यक्षमा उम्मेद्वारी दिएको हुँ ।

डा. हरिप्रसाद श्रेष्ठ
सदस्यको प्रत्यासी

डा. हरिप्रसाद श्रेष्ठ पेशाले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक हुनुहुन्छ । विगत ३४ वर्षदेखि निरन्तर रुपमा उहाँले पर्यटन विषयमा अध्यापनको काम गर्दै आउनुभएको हो । काठमाडौंको ज्ञानेश्वर निवासी श्रेष्ठ टुरिजम मार्केटिङ नेपालमा पिएचडी हुनुहुन्छ । उहाँले यसअघि पब्लिक क्याम्पसमा पर्यटन विषयमा डाइरेक्टर भएर काम गरिसक्नुभएको छ । उहाँ विगत १८ वर्षदेखि एनएमएमा सदस्य हुनुहुन्छ । एनएमएको पब्लिकेशन समितिको संयोजक भएर काम गरिसक्नुभएको छ । उहाँको लागि पर्यटन पेशा नभएपनि योसँगको सम्बन्ध एकदमै गहिरो छ । यस अघि उहाँले एनएमएले नेपालको ८ हजार मिटर भन्दा माथिका हिमालहरुको स्वर्ण जयन्ती मनाउँदा विभिन्न हिमालहरुको विशेषाङक प्रकाशन गर्नका लागि ठूलो योगदान पु¥याउनुभएको थियो । आफ्नो तवरबाट पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवद्र्धनमा योगदान पु¥याउने आफ्नो योजना रहेको उहाँले बताउनुभयो ।

डा. निमा नाम्ग्येल शेर्पा
सदस्यको प्रत्यासी



सोलुखुम्बु जिल्लाको खुम्जुङ गाविसमा २०४० सालमा जन्मनुभएका डा. निमा नाम्ग्येल शेर्पाले विल्कुलै फरक पृष्ठभूमिबाट पर्वतीय पर्यटनमा आवद्ध हुनुभएको छ । स्वस्थ्य सेवालाई पर्वतीय पर्यटनमैत्री बनाउन प्रयासरत सिमित व्यक्तिहरुमध्ये डा. निमा एक हुनुहुन्छ । उहाँलाई नेपालको एक मात्र प्रोफेसनल्ली क्वालिफाइड एक्सपीडिसन डाक्टरको रुपमा पनि चिन्न सकिन्छ । उहाँले सुगम ठाउँ छोडेर दुर्गम विकट ठाउँहरुमा पुगी स्वस्थ्य सेवा प्रदान गर्ने काम गरिरहनुभएको छ । चाइनामा एमबीबीएस अध्ययन गरेर नेपालमा आएपछि उहाँ पर्वतारोहण क्षेत्रमा लाग्ने विदेशी तथा स्वदेशी सबैको सुरक्षाका निम्ति निरन्तर रुपमा लागि पर्नुभएको छ । उहाँले डिप्लोमा माउन्टेन मेडिसियन, डिप्लोमा माउन्टेन इमेर्जेन्सी मेडिसियन, हाइ माउन्टेन रेस्क्यु टे«निङलगायतका टे«निङहरु नेपालमा लिनुभयो र आउटडोर लिडरसिप टे«निङ अमेरिकामा लिनुभयो । उहाँले डाक्टर भएरै हालसम्म सगरमाथा, मनास्लु, आमादब्लम तथा विभिन्न ६ हजार मिटिरका पीकहरुको सफल आरोहण गरिसक्नुभएको छ । पर्वतीय क्षेत्रमा उहाँले विशेषगरी हेल्थ सेफ्टीका सेवा प्रदान गरेर विदेशी तथा नेपाली आरोहीहरुको मनोबल, आत्मविश्वास बढाउने काम गर्नुभएको छ । त्यसो त उहाँले आफुजस्तै अरु डाक्टरहरु पनि यो पेशामा लागेर नेपालको पर्यटन विकासमा योगदान पु¥याउनुपर्नेमा जोड दिदै आउनुभएको छ । एक्स्पीडिसन डाक्टर बन्नका लागि उहाँले व्यक्तिगत प्रयासमा विभिन्न अन्तर्राष्ट्रिय स्तरको टे«निङहरु लिइसक्नुभएको छ ।  एनएमएको मेडिकल र रेस्क्यु कमिटिमा बसेर विभिन्न कार्य गर्ने उहाँको योजना रहेको छ । नेपालको सन्दर्भमा मिल्ने उपयुक्त ःMedicletraining  तथा First Aid  को guide live  बनाएर यहाँका guide हरुलाई सक्षम बनाउने,First Aid  सम्बन्धि नेपाली तथा अंगे्रजीमा ह्याण्ड बुक प्रकाशन गर्ने, First Aid kit को विकास गरेर सबैलाई उपयुक्त र सुलभ मुल्यमा उपलब्ध गराउने, mountain rescue को विकासमा लागेर नेपालका हिमालहरु सुरक्षित बनाउनेलगायतको योजना रहेको उहाँले सुनाउनुभयो ।

धनबहादुर गुरुङ
सदस्यको प्रत्यासी 


धनबहादुर गुरुङ पुरानो पर्यटन व्यवसायीहरुको सूचिमा पर्नुहुन्छ ।  विस २०२० साउन २५ गते धादिङ बसेरी वडा नं १ मा जन्मनुभएका गुरुङ नेपाल अल्सास टे«क एण्ड एक्सपीडीसनका प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँ १९८२ देखि पर्यटन क्षेत्रमा लाग्नुभएको हो । उहाँले २०४१ सालमा एनएमएको टे«निङ लिनुभएको थियो भने टे«किङ गाइडको टे«निङ २०४२ सालमा लिनुभएको थियो । उहाँको गाइड लाइसेन्स नम्बर ७५ रहेको छ । जबकी अहिले गाइड लाइसेन्सको संख्या ५ हजार भन्दा बढि पुगिसक्यो । नेपालमा विभिन्न खाले समस्याहरु छन् । पर्वतीय पर्यटन क्षेत्रमा पनि धेरै समस्याहरु रहेको हुनाले त्यसको समाधानको लागि एक जुट भएर अघि बढ्नुको विकल्प नरहेको उहाँको धारणा छ ।  यस क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि एनएमएमा आफ्नो उम्मेद्वारी परेको उहाँको भनाइ छ । 


छुरिम शेर्पा
सदस्यको प्रत्यासी



छुरिम शेर्पा नेपालको पर्वतारोहण क्षेत्रमा सुपरिचित नाम हो । ताप्लेजुङमा २०४१ सालमा जन्मनुभएका उहाँले सन् २०११ मा ९ दिनभित्र दुईपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्वकीर्तिमानी कायम गर्नुभएको थियो । तथापी, इच्छाशक्ति भए महिलाले पनि गर्न सक्छ भन्ने उदाहरण हुनुहुन्छ छुरिम । बाल्यकालदेखि नै पर्यटन क्षेत्रमा लाग्ने सोच बनाउनुभएका उहाँले एनएमएबाट बेसिकदेखि एडभान्स टे«निङहरु लिनुभएको छ । हालसम्म उहाँले हाइमाउन्टेन रेस्क्युजस्ता टे«निङ लिइसकेको र अहिले पनि विभिन्न टे«निङहरु लिने क्रममै हुनुहुन्छ । उहाँले भविष्यमा पर्यटन क्षेत्रमा केही गरेर देखाउने सपना बोक्नुभएको छ । आरोहीको माध्यमबाट पनि पर्यटन प्रवद्र्धन गर्न सकिन्छ र धेरै भन्दा धेरै पर्यटकलाई स्वदेश भित्रयाउन सकिन्छ भन्ने सन्देश दिन चाहानुहुन्छ उहाँ । अहिलेसम्म उहाँ इन्डियामा अवस्थित लदाकको ७ हजार ७७७ मिटर उचाईको कुन नामक हिमाल तथा नेपालको चोयु, आमादब्लम तथा विभिन्न पीकहरुको सफल आरोहण गरिसक्नुभएको छ । एकजुट भएर कुन ठाउँमा के के आवश्यक छ त्यसको पहिचान गरी प्राथमिकताको आधारमा विकास निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । पर्वतीय पर्यटनको लागि सबै क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै उहाँले महिलाहरु अझै पनि अगाडि आउन नसकेको हुनाले ठाउँठाउँमा टे«निङ सेन्टर खोलेर महिलाहरुका लागि पनि पर्यटनमैत्री वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । जसको लागि आफुले जहिले पनि पहल गरिरहने प्रतिवद्धतासमेत जनाउनुभयो ।

पासाङ शेर्पा
सदस्यको प्रत्यासी उम्मेद्वार

दोलखा जिल्लामा जन्मिनुभएका पासाङ शेर्पालाई आरोही तथा पर्वतीय क्षेत्रमा कुशल प्रशिक्षकको रुपमा लिन सकिन्छ । उहाँले हालसम्म इन्स्ट्रक्टरदेखि इन्टरनेश्नल डिप्लोमासम्मको टे«निङहरु हासिल गरेर अहिले विशेष गरी प्रशिक्षकको रुपमा काम गरिरहनुभएको छ । आफुबाट टे«निङ लिने प्रशिक्षार्थीको संख्या यकिन नभएपनि अनुमानित ८ हजार जना पुगिसकेको उहाँ बताउनुहुन्छ ।  पर्वतीय क्षेत्रमा लागेर अन्तर्राष्ट्रिय छवि बनाउने दोलखा जिल्लाकै पहिलो व्यक्तित्वको रुपमा उहाँलाई लिन सकिन्छ । एनएमएमा गएर यस क्षेत्रमा देखिएको समस्याहरुको समाधान गर्दै पर्वतीय पर्यटन क्षेत्रमा पूर्वधार विकास तथा जनशक्ति उत्पादनलाई थप सशक्त रुपमा अघि बढाउन पहल गर्ने कुरामा उहाँ प्रतिबद्ध हुनुहुन्छ ।

लाक्पा शेर्पा
सदस्यको प्रत्यासी उम्मेद्वार

ओखलढुंगा जिल्लामा जन्मनुभएका लाक्पा शेर्पा सदस्यको प्रत्यासी उम्मेद्वार हुनुहुन्छ । उहाँ नेपाल पर्वतारोहण प्रशिक्षण संघको वर्तमान महासचिवसमेत हुनुहुन्छ । १९९८ बाट पर्यटन  क्षेत्रमा लाग्नुभएका उहाँले विभिन्न युनिभर्सिटीबाट विभिन्न टे«निङहरु प्राप्त गरिसक्नुभएको छ । उहाँ सन् २००० देखि प्रशिक्षकको रुपमा निरन्तर लाग्दै आउनुभएको छ । २००३ मा पहिलो पटक उहाँले सगरमाथा आरोहण गर्नुभयो र त्यसयता विभिन्न हिमालहरुको आरोहण गरिसक्नुभएको छ । लगभग ७ सय जना भन्दा बढिलाई टे«निङ प्रदान गरिसक्नुभएको छ । यसबीचमा उहाँ टिचिङ र क्लाइमिङ र माउन्टेन रेस्क्युहरुमा संलग्न हुँदै आउनुभएको छ । पर्वतीय पर्यटन क्षेत्रको बृद्धिविकाससँगस प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएर आउने एनएमएले विभिन्न खाले तालिमसम्बन्धि पाठ्यक्रमदेखि  यस क्षेत्रको नीतिगत पक्षको सुधार गर्नुपर्ने देखिन्छ । आरोही तथा गाइडहरुको लागि इन्सुरेन्स, सामाजिक सुरक्षाको लागि धेरै गर्नुपर्ने छ । त्यसको समाधानको लागि सरकारसँग सहकार्य गरेर उपयुक्त संयन्त्रको विकास गर्नु जरुरी रहेको उहाँको भनाइ छ ।

  दा ग्याल्जेन शेर्पा
सदस्यको प्रत्यासी उम्मेद्वार

सोलुखुम्बु जिल्ला, लोखिम गाविस वडा नं ९, कुरिमामा २०२४ सालमा जन्मनुभएका दा ग्याल्जेन शेर्पा सोह्र वर्षे उमेरदेखि नै पर्यटन व्यवसायमा लाग्नुभएको हो । एक्पीडिसन हिमालय डट कमका प्रबन्ध निर्देशक शेर्पा माउन्टेन वर्कर वेल्फेयर एसोसिएशनको अध्य पनि हुनुहुन्छ । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको पर्वतीय पर्यटन सम्बन्धि तालिमहरु लिइसक्नुभएका उहाँले हालसम्म विभिन्न हिमालको सफल आरोहण गरिसक्नुभएको छ । उहाँ उहाँले हालसम्म सर्वोच्च शिखर सगरमाथा ७ पटक चढिसक्नुभएको छ भने धवलागिरी एक पटक, चोयु ३ पटक, चाइनाको आठ हजार मिटरको एक मात्र हिमाल सिसापाङ्मा हिमाल तथा विभिन्न हिमालहरुकोसमेत सफल आरोहण गरिसक्नुभएको छ । पर्वतीय पर्यटनमा लाग्ने क्रममा देखेभोगेका विभिन्न समस्याहरुको समाधानका लागि एनएमएमा जान लागेको उहाँको भनाइ छ । उहाँले विभिन्न यहाँका पीकहरुको समस्या, पदमार्गहरुमा देखिएका समस्या, वातारवरणीय तथा सरसफाई जस्ता पक्षमा सुधार ल्याउनका लागि आफुले एनएमएको सदस्यको दाबी गरिरहेको पनि बताउनुभयो । सिमित ठाउँमा रहेको पर्वतीय पर्यटन गतिविधिहरुलाई बढावा दिनुपर्नेमा उहाँको जोड रहेको छ ।


पेम्बादोर्जी शेर्पा
सदस्यको प्रत्यासी

वि.स. २००७ सालमा सोलुखुम्बुको सल्लेरी ५ मा जन्मिनुभएका पेम्बादोर्जी शेर्पा नर्थफेस आउटडोरका प्रमुख हुनुहुन्छ । उहाँलाई नेपालमा सबैभन्दा पहिला चेन लज खोल्ने व्यक्तिको रुपमा पनि चिन्न सकिन्छ । उहाँले आजभन्दा १५ वर्षअगाडि दोलखाको जिरीदेखि सोलुखुम्बुको दिङबुचेसम्म १३ वटा लज खोल्नुभयो । सगरमाथा क्षेत्रमा बेकरी उत्पादन तथा विक्रिवितरण गर्ने पहिलो व्यक्ति पनि उहाँ नै हो । २०२७ सालदेखि टे«किङ गाइडलाई पेशाको रुपमा अंगालेर पर्यटन क्षेत्रसँग नजिक हुनुभएका उहाँले तत्कालिन नेपाल टे«किङमा म्यानेजर र त्यसपछि गाइड फर अल सिजन नामक टे«किङ कम्पनीमासमेत काम गर्नुभएको थियो । त्यसक्रममा उहाँले विविध खालका अनुभव बटुल्नुभयो । हाल उहाँले नर्थफेसको नेपाली आधिकारिक विक्रेता भएर काम गरिरहनुभएको छ । कुराकानीकै क्रममा उहाँले एनएमएमा गएपछि अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालयलाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा आफ्नो ध्यान केन्द्रित गर्ने उहाँले बताउनुभयो । आफै नर्थफेसको आधिकारिक विक्रेता भएको हुनाले विभिन्न कार्यक्रम गरिरहनुपर्ने र एनएमएसँग नर्थ फेसले सहकार्य गर्दै काम गर्दै आएको हुनाले यसलाई अझ व्यवस्थित रुपमा लैजानका लागि पनि एनएमएमा आफ्नो उपस्थिति आवश्यक रहेको उहाँको भनाइ छ ।

कामिनी शेर्पा
सदस्यको प्रत्यासी


बैंककमा ८ अगष्ट १९६३ मा जन्मनुभएका कामिनी शेर्पा अहिले काठमाडौंमा स्थाई बसोबास गर्दै आउनुभएको छ । एबाउन्ड एसियन एडभेन्टरका फाइनान्स डाइरेक्टर हुनुहुन्छ । झण्डै दुई दशक लामो समयदेखि पर्यटन क्षेत्रसँग नजिक रहनुभएका उहाँले यस अघि पनि एनएमए र टानको कार्यसमिति भएर काम गरिसक्नुभएको छ । हरेक संघसंस्थाहरुमा महिलाहरु अगाडि आउन नसकिरहेको बेला  महिलाको सशक्त प्रतिनिधिको रुपमा आफु सदस्यको प्रत्यासी भएर आएको उहाँले बताउनुभयो । प्रतिबद्धता गरेका कुराहरु पूरा गर्नुपर्छ भन्ने मान्यता राख्ने उहाँले आफु जितेर गएपछि यस क्षेत्रमा महिलाहरुको सहभागिताको लागि पहल गर्ने बताउनुभयो ।

No comments: